घुस लिएको अभियोगमा मालपोतका खरिदार र लेखापढीलाई मुद्दा दायर   


न्युज अफ नेपाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घुस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग नगद १ लाख २० हजार घुस लिएको अभियोग लगाएको छ । खरिदार पाण्डेको मिलेमतोमा जग्गा नामसारी गरिदिने प्रयोजनार्थ घुस लिएको पाइएको छ । आयोगले खरिदार जीवनाथ र लेखापढी व्यवसायी कमलप्रसादविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भरतप्रसाद उपाध्याय र अर्का कर्मचारी राधिकादेवी शर्माले नगद ६ लाख ५८ हजार ५२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । कार्यादेश नभएको र असम्बन्धित व्यक्तिलाई उनीहरुले भ्रमण भत्ता दिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फेटा गाउँपालिकाको कार्यालय बारामा रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत नगद २५ हजार घुस मागेको अभियोग लागेको छ ।