केरुङ-काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता गरिने उपप्रधानमन्त्री पोखरेलको भनाई


न्युज अफ नेपाल, काठमाडौँ । चीनका राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको विषयमा सम्झौता गरिने उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताएका छन् ।

टोखाकाे झाेरमा निर्माण हुन लागेको बालमैत्री पार्क तथा सार्वजनिक सौचालयको आइतबार एक विशेष समारोहकाबीच शिलन्यास गर्दै पोखरेलले झोरबाटै सुरुङ खोलिने भएकाले यस क्षेत्रको विकासले फड्को मार्ने विश्वास दिलाए ।

उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका कामहरु समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन वाधक रहेको बताए । विकासका योजनाहरुलाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए ।

विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिहरुको भूमिका अहम भएको भन्दै जिम्मेवारीका साथ काममा लाग्न उपप्रधानमन्त्री पोखरेलले निर्देशन लिए ।