छुट्टाछुट्टै स्थानबाट २ जना बेपत्ता


पर्वत । पर्वतको छुट्टाछुट्टै स्थानबाट एक १७ बर्षे युवक र १८ बर्षे गर्भवती महिला बेपत्ता भएका छन । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका १७ बर्षिय बिमल लामिछाने १४ दिन देखी बेपत्ता भएका छन् भने बेनी नगरपालिका–८ की १८ बर्षिया गर्भवती महिला मनिषा परियार १० दिनदेखि बेपत्ता भएकी छिन् ।

पर्वतको भवानी विद्यापीठ मा.वि खानीगाउँमा कक्षा १२ मा अध्ययनरत लामिछाने भदौ १४ गते साँझ साथीको घरमा जाने भन्दै निस्किएपछि बेपत्ता भएका हुन भने पर्वतको कुश्मा नगरपालिका–१ पाङ माइतीबाट घर बेनी घर गएकी १८ बर्षिया मनिषा परियार भदौ १८ गते राती देखि बेपत्ता भएकी हुन् ।

साथीको घर जाने भनेर १४ गते बेलुका सम्पर्कमा आएका लामिछाने अहिलेसम्म फेला नपरेको उनका बुवा बिक्रम लामिछानेले जानकारी दिनुभयो । अचनाक बेपत्ता भएपछि बालकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको र प्रहरीले समेत खोजी कार्य जारी रहेको बताएको छ । ‘साथी विदेश जाँदै छ भनेर घरवाट निस्केको हो । उनका बुवा लामिछानेले भन्नुभयो,आमाले फोन गर्दा पनि सोही कुरा भनेछ, पछि बैनीलाईलाई फोन गरेर आज घर आउँदिन, भोली आउँछु भन्दै फोन काटेछ ।’ घरबाट बेपत्ता भएको केही घण्टासम्म छोराको मोबाइलमा फोन लागेपनि त्यसपछि स्विच अफ भएका कारण बालकको अवस्था थाहा पाउन पुस्किल परेको परिवारले जनाएको छ ।

यस्तै पाँच महिनाकी गर्भवती मनिषा बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएको श्रीमान रत्न परियारले जानकारी दिनुभयो । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्क्विहीन भएको उनका श्रीमानले बताउनुभयो ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमानले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताउनुभयो । आमा सृजनाका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ ।