देशैभर डेंगुको महामारी, ढिलो भयो सरकारी तयारी

0
Shares

काठमाडौं, (नेस)।डेंगु नियन्त्रणमा सरकारले पर्याप्त ध्यान नदिँदा दिनप्रतिदिन बढ्दै गएको छ। सरकारका मन्त्री र नेकपाका शीर्ष नेता डेंगुबाट पीडित भएर अस्पताल भर्ना हुँदासमेत सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।

सरकारले डेंगु नियन्त्रण गर्नका लागि योजना बनाएर लागू गर्न नसक्दा बिरामीको संख्या बढ्ने क्रममा रहेको छ। समयमा नै डेंगु नियन्त्रण नगर्दा बिरामीको संख्या बढ्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजनाबद्ध रूपमा अभियान सञ्चालन गर्न ढिलाइ गर्दै आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ५६ भन्दा बढी जिल्लामा डेंगु रोगको संक्रमण देखा परिसकेको छ।

गत वैशाखदेखि नै नेपालमा डेंगुको संक्रमण फैलिएको थियो। छ महिनाअघि देखा परेको रोग नियन्त्रणमा नआउँदा नागरिकमा त्रास फैलिएको छ।

डेंगुकै कारण ५६ जिल्लाका अस्पतालमा बिरामीको भीड बढिरहेको छ। एक साताअघि कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु रोग लागेपछि अस्पताल भर्ना गरिएको थियो।

मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्री खनालको स्वास्थ्यमा सुधार भएकाले हाल निवासमै आराम गरिरहेको बताउनुभयो।

नेकपाका संगठन विभाग प्रमुख वामदेव गौतमलाई पनि डेंगुको संक्रमण देखाएको छ। डेंगु रोग लागेपछि गौतम निवासमै आराम गरिरहनुभएको उहाँको प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो।

मन्त्री, नेता र डाक्टरसहितलाई डेंगुको सक्रमण देखिएको छ। नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले डेंगुको बिरामी बढिरहेको अवस्थामा सरकार संवेदशील हुनुपर्ने बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले डेंगु नियन्त्रणका लागि अभियानको घोषणा गरेर जनतेतनाको कार्यक्रम लिएर जानुपर्छ।’

डेंगु नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा विशषेज्ञहरूलाई तत्काल परिचालन गर्ने कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा थापाले जोड दिनुभयो।

‘प्रतिष्ठित व्यक्ति र मन्त्रीहरूलाई समेत डेंगु रोग लागेको छ, जनताले छिटोभन्दा छिटो अनभूति गर्ने कार्यक्रम तत्काल घोषणा गर्नुपर्छ’ –उहाँले भन्नुभयो।