टेन्ट कि ट्रेन ?

0
Shares

सरकारलाई छिमेकीसँग सधैं हात फैलाउने बानी पर्या छ। छिमेकमा जाँदा होस् या छिमेकी आउँदा सरकार सधैं निर्धक्क हात फैलाउँछ।

कुरो कम्रेड ओली सरकारको मात्र होइन, विगतदेखिका सरकार यस्तै संस्कारमा हुर्किए यस्तै अभ्यास दोहोर्याउने इतिहास रचे।

यसपटक चिनियाँ विदेशमन्त्रीको काठमाडौं यात्रामा पनि सरकारले राम्रै हात फैलाएको थियो, मुख ठूलो बाएर आँ… गर्याथ्यो। खल्ती र धेरैवटा कन्तुर भर्ने सरकारी रहर पाल्याथ्यो।

तर यसपटक भने चीनले सरकारलाई राम्रैसँग लोप्पा खुवाएको धरहराले देखेको छ। सधैं राम्रै दान दिने चीनले यसपटक पनि दान त दियो तर अपेक्षा गरेअनुसार न मुख भरिने भो, न खल्ती, न त कन्तुर नै।

चीनसँग रेल सम्झौता गर्न कम्मर कस्या सरकारलाई यसपटक राम्रै झेल भा’छ, अन्तिममा पाँच हजार थान त्रिपालमा चित्त बुझाउनुपर्या छ।

सरकारले ‘टे«न’ को नारा लाइराख्या बेला चिनियाँ पक्ष झुक्किएर ‘टेन्ट’ द्या त पक्कै होइन होला ?

एनसेललाई कर छुट दिएर ढुकुटी घटाएको सरकारले अस्पताल बनाउन सक्दैन भन्ने ठहर गरेरै चीनले मनाङमा अस्पताल बनाउन सहयोग गर्याचाहिँ पक्कै हो।

‘जय नेपाल जय चीन, हटेन नेपालीको माग्ने दिन’ भन्न मन लाग्यो धरहरालाई। कि कसो पाठकवृन्द ?