महिलालाई रोटरीको सूक्ष्मकर्जा


हेटौंडा, (नेस)।रोटरी क्लब अफ हेटौंडाले एकल, गरिब तथा विपन्न ७/७ महिलाको ५ समूहलाई बिनाब्याज, बिनाधितो प्रतिव्यक्ति ३० हजारका दरले उद्यम सञ्चालनका लागि १० लाख ५० हजार सूक्ष्मकर्जा प्रदान गरेको छ

। हाँडीखोलाको ४ समूहलाई मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता र ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तानको विशेष आतिथ्यतामा वडा कार्यालयमा कर्जा वितरण गरिएको थियो।

हेटौंडा–९ को एक समूहलाई वडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको आतिथ्यतामा वडा कार्यालयमा कर्जा वितरण गरिएको थियो।

कर्जा वितरणपश्चात् मनहरी गाउँपालिका उपाध्यक्ष विष्टले महिलालाई उद्यमी बनाएर आयसँग जोड्ने सूक्ष्मकर्जा कार्यक्रमलाई रोटरी क्लब अफ हेटौंडाले हाँडीखोलामा निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै गाउँपालिकाले पनि महिलालाई लक्षित गर्दै उनीहरूलाई स्वरोजगार बनाउन ४० लाखको घुम्तीकोष स्थापना गरेको जानकारी गराउनुभयो।

हेटौंडा–९ अध्यक्ष भण्डारीले सूक्ष्मकर्जा कार्यक्रम अझ बढी विपन्न महिलासम्म पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

रोटरी क्लब अफ हेटौंडा अध्यक्ष इन्द्र नेपालले कर्जा वितरण कार्यक्रमको सभाध्यक्षता गर्दै रोटरी क्लबले एकल एवम् विपन्न महिलालाई लक्षित गरेर नौं वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको र हालसम्म मकवानपुरका विभिन्न स्थानका ५४ महिला समूहका ३ सय ७० महिलालाई साना उद्यमका लागि कर्जा सहयोग पुर्याइएको बताउनुभयो।