चिनियाँ विदेशमन्त्रीको भक्तपुर मोह

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।चिनियाँ विदेशमन्त्री वाङ यीले आज बिहान भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्नुभएको छ।

उहाँले भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर लगायतका ठाउँहरू अवलोकन गर्नुभयो।

उहाँले भक्तपुर क्षेत्रका ऐतिहासिक सम्पदालाई आफैंले आफ्नो क्यामरामा कैद गर्नुभएको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीको आग्रह अनुसार भक्तपुर क्षेत्र अवलोकन भ्रमण गरेको तस्वीर नखिच्न पत्रकारलाई सुरक्षाकर्मीहरूले आग्रह गरेका थिए।

विदेशमन्त्री वाङको चाहना सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न चाहेको सुरक्षाकर्मीको भनाई थियो।

भक्तपुर घुम्न पाउँदा अत्यन्त खुसी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताउनुभएको थियो।

उहाँको साथमा चिनियाँ राजदूत होउ याङ्छी लगायत भ्रमण दलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो।

विदेशमन्त्री वाङले सामान्य नागरिक जस्तै पर्यटकीय क्षेत्र घुम्ने इच्छा गरे पनि उहाँका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

स्थानीयबासीलाई भने भ्रमणका बेला कुनै रोकतोक नगरिएको प्रहरीको भनाई छ। बिदेशमन्त्री आजै स्वदेश प्रस्थान गर्नुभएको छ।