१८ वर्षदेखि फरार अभियुक्त पक्राउ

0
Shares

भक्तपुर, (नेस)। कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त १८ वर्षपछि भक्तपुरबाट पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका– ३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्या गरी फरार भएका भक्तपुर नगरपालिका–२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भएका ३८ वर्षीय भीमसेन भण्डारीलाई भक्तपुर नगरपालिका–२ स्थित बसपार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको हो।

गत २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका–३४ महादेवस्थान टोलमा निर्माणाधीन घरको सामान कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले पक्राउ गरेको हो।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाउँमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र सोपश्चात लुकिछिपी भक्तपुर जिल्लामा अस्थाई सहचालकका रुपमा विभिन्न गाडीहरूमा काम गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

भण्डारीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको ब्युरोले जनाएको छ।