स्याल स्याल नै हो हल्ला गर्दैमा सिंह हुँदैन ः प्रचण्ड

0
Shares

काठमाडौं, (नेस)। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले षड्यन्त्रका झिल्का देखापर्न थालेको बताउनुभयो।

उहाँले आन्दोलनमा प्रदर्शन गरिएको त्याग तपस्या, क्षमता, प्रतिभा र देशका लागि समर्पित गर्ने व्यक्तित्व र आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको हो।

‘इतिहासलाई अपमानित गर्ने, शहीदको अवमूल्यन गर्ने, त्यसका नेताहरूलाई बदनाम गर्ने नियोजित षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ’, प्रचण्डले भन्नुभयो– ‘कहिलेकाहीं सिंहका अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहसँग गर्न सकिन्न।’स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ।

सुरेश वाग्लेको २१ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीबाट केही कमजोरी भए सच्याउन तयार रहेको बताउँदै इतिहासका उपलब्धि खोस्न चाहने तत्वलाई भने छुट दिन नसकिने बताउनुभयो।

राम्रा काम गर्न नसकेको होइन, तर जनताको आशा अपेक्षाअनुरुप काम भएन भन्नेतर्फ हाम्रो ध्यान गम्भीर रुपमा गएको छ, उहाँले भन्नुभयो।

पार्टीले देशव्यापी रुपमा कार्यक्रम लिएर कार्यकर्ता र जनताको पंक्तिमा जाने अन्तिम तयारीमा रहेको बताउँदै प्रचण्डले कुनै पनि नामका प्रतिक्रियावादी आएर निरंकुशताको जाँतोमा पिस्न दिने काम आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभयो।

‘इतिहासको चक्कालाई पछाडि धकेल्ने तर हजारौं जनताको बलिदान र लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्ट्याउने छुट कुनै हालतमा दिन सकिन्न,’ –प्रचण्डले भन्नुभयो।