चिनियाँलगानी भित्र्याउन मुख्यमन्त्रीहरूको प्याकेज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताउनुभएको छ। शनिबार काठमाडौंस्थित चिनियाँराजदूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा उहाँले चिनियाँनागरिकलाई ढुक्क भई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो।

संघीयताको सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले नेपालको समृद्धिको चाहनालाई पूरा गर्न चिनियाँउद्यमीलाई आग्रह गरिएको मन्त्री यादवले बताउनुभयो।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभयो। उहाँले नेपालको राजनीतिक संक्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँउद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गर्नुभयो।

उहाँले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँपर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा भएका लगानी सम्भावनाबारे स्पष्ट पार्नुभएको थियो। जसमध्ये प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीन र नेपाल सरकारका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरमा न्यानो सम्बन्ध स्थापित भएको बताउनुभयो। नेपालको गरिबी अन्त्यका लागि चीन सरकारले लगानीको प्रमुख गन्तव्य नेपाललाई रोज्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिया, रुद्राक्ष र अलैंची उत्पादनमा लगानी गर्न चिनियाँउद्यमीलाई आग्रह गर्नुभयो। उहाँले औद्योगिक क्षेत्रको विकासका लागि ७८० रोपनी तथा आधुनिक कृषि क्षेत्रको विकासका लागि १ हजार ४० रोपनी जमीन प्रदेश सरकारले छुट्टाएको बताउनुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेको भन्दै चिनियाँउद्यमीलाई लगानी गर्न आग्रह गर्नुभयो। उहाँले गण्डकी प्रदेश सरकारले कावासोतीमा १६० हेक्टर जमीन औद्योगिकग्रामका लागि छुट्टाइएको जानकारी दिनुभयो।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ ले औद्योगिक शहरको विकास गर्न १ हजार ३ सय रोपनी जग्गा छुट्टाएको जानकारी दिँदै लगानी गर्न चिनियाँउद्यमीलाई आग्रह गर्नुभयो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्न पत्थर, जैविक मल कारखाना, मार्बल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्द्ववान गर्नुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनियाँलगानीकर्तालाई आग्रह गर्नुभयो।