करिब एक दशकअघि फिल्म विजयपथबाट अभिनय करिअरको शुरुआत गरेकी नायिका पवित्रा आचार्य पछिल्लो समय नृत्य निर्देशनमा समेत व्यस्त छिन्। कुशल नृत्यांगनासमेत रहेकी उनले भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी छिन्। विजयपथ, राजनीति, आवेग जस्ता फिल्ममा अभिनय गरेकी तथा नेपाल चलचित्र कलाकार संघको सहकोषाध्यक्षसमेत रेहकी उनीसँग फिल्म क्षेत्र र कोरियोग्राफीबारे गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः
रश्मी थापा
तपाईं आफूलाई कलाकार, कोरियोग्राफर वा डान्सर के भन्न चाहनुहुन्छ ?
म शुरूमा कलाकारका रूपमा फिल्म क्षेत्रमा आएको हुँ। शास्त्रीय नृत्य पढेर र सिकेर आएको हँु। पीके कलेजमा डान्स लिएर पढेको थिएँ भने भारतको इलाहवाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोपा गरेकी छु। यस हिसाबले डान्सर पनि हँु। पछिल्लो समय कोरियोग्राफीमा पनि सक्रिय भएकाले आफूलाई कलाकार र कोरियोग्राफर दुवै भन्न चाहन्छु।
नायिका बन्न आउनुभएको तपाईं हिजोआज बढीजसो नृत्य निर्देशनमा देखिनुहुन्छ नि ?
अभिनयमा मात्र नभई नृत्यमा पनि रुचि थियो। मैले गरेको काम देखेर फिल्म क्षेत्रका अग्रज व्यक्तित्वहरूले तिमी डान्समा राम्रो छौं, कोरियोग्राफी गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुहुन्थ्यो।
नेपालमा महिला कोरियोग्राफरको संख्या पनि कम छ। पढेको विषय भएकाले गाह्रो हुँदैन भनेर कोरियोग्राफी पनि गर्न थालेकी हुँ। करिब ४ वर्षअघि कोमल वली दिदीको तीज गीत हल्ला भो शिवजीबाट कोरियोग्राफीको शुरुआत गरेको थिएँ।
त्यो गीतबाट राम्रो प्रशंसा पनि पाएँ। त्यसपछि लगातार फिल्म तथा अन्य विधाका गरी करिब ३ दर्जन बढी भिडियोको कारियोग्राफी गरेको छु।
मेलाको गीत साइवा हो साइवा एकदमै सफल भयो। तर, अन्य फिल्मबाट अफर नआएको हो ?
अफर पनि आइरहेका छन्। तर, अफर आए पनि कतिपय अवस्थामा आफूलाई गीत चित्त नबुझ्ने र समय नमिल्ने आदि कारणले धेरै गीत गरेको छैन। अहिले केही फिल्मको गीतको तयारीमा छु। भोजपुरी फिल्मबाट पनि अफर आएको छ।
त्यसमा आफैंले अभिनय र कोरियोग्राफी गर्नुभयो। कतिको गाह्रो हुँदोरहेछ ?
आफैंले कोरियोग्राफी गर्दा राम्रोसँग कन्सेप्ट बुझिन्छ, त्यसैले सजिलो भयो। यो गीतमा गजित विष्ट मेरो अपोजिटमा हुनुहुन्छ। उहाँले ग्रुप लिडिङदेखि धेरै कुरामा हेल्प गर्नुभएका कारण गाह्रो भएन।
होम प्रोडक्सनबाहिरको फिल्ममा देखिनै छोड्नुभयो। अफर नै नआएको हो किआएको अफरमा काम नगरेको हो ?
कतिपय फिल्मको स्क्रिप्ट आफूलाई चित्त नबुझेर पनि गरिनँ भने कतिका लागि समय मिलेन। पछिल्लो समय त कोरियोग्राफीमै व्यस्त छु।
तपाईं कलाकार हुनुमा निर्देशक पति वसन्त निरौलाको कत्तिको हात छ ?
म कलाकार भइसेकेपछि मात्र मैले वसन्तजीलाई भेटेको हो। तर, विवाह गरिसकेपछि र एउटै फिल्डमा भएपछि उहाँले सपोर्ट नगर्ने भन्ने कुरा आउँदैन।
त्यसमाथि पनि श्रीमान्–श्रीमतीलाई एक–अर्काको परिपूरक पनि भनिन्छ। म कोरियोग्राफीमा आएको पनि उहाँको फोर्सका कारण हो।
नेपाली फिल्म क्षेत्रमा महिला नृत्य निर्देशकको अवस्था कस्तो छ ?
नेपालमा महिला कोरियोग्राफरको कमी छ रेनेशा बान्तवा राई हुनुहुन्थ्यो। उहाँ पनि फिल्मतिर लाग्नुभयो। अहिले कोरियोग्राफरलाई सर्भाइब हुन गाह्रो छ। कलाकार र कोरियोग्राफरमा दुवैको उत्तिकै मेहनत परेको हुन्छ।
तर, कलाकारलाई दिने जति पारिश्रमिक कोरियोग्राफरलाई दिइँदैन। कोरियोग्राफरले पनि फिल्मको स्टोरीमा बगेर निर्देशन गर्नुपर्छ। यस कारण खटाई र मेहनत धेरै नै हुन्छ।
कहिले राति पनि काम गर्नुपर्ने हुन्छ। तर, खटाई र परिश्रमअनुसारको पारिश्रमिक दिन हिचकिचाउनुहुन्छ।
महिला र पुरुष कलाकारमा पारिश्रमिकको विभेद छ। नृत्य निर्देशनको क्षेत्रमा त्यो विभेद छ कि छैन ?
कोरियोग्राफीमा मेरो स्टारर्टिङ फेज भन्न रुचाउँछु। महिला कोरियोग्राफरको पारिश्रमिक कम भए पनि पुरुषको कस्तो छ, त्यसबारे मैले खासै बुझेकी छैन। तर, व्यवहारमा भने केही फरक पाएँ।
अहिलेका महिला कहाँ पुगिसके, तर पनि महिला भन्नासाथ महिला कलाकारबाटै ए लेडिज कोरियोग्राफर पो? केटीले नचाउन सक्छे र ? भनेर होच्यान्छ। फिल्म क्षेत्रमा महिलालाई हेरिने पुरानो मानसिकता कायमै छ।
पर्दाअगाडि र पछाडि बसेर काम गर्दा कुनचाहिँ सजिलो लाग्छ ?
दुवै उस्तै लाग्छ। पर्दा अगाडि र पछाडिका व्यक्तिहरूले उत्तिकै मेहनत गरेका हुन्छन्। फरक यति हो कि पर्दा पछाडिको काम कमैले देख्छन्। पर्दाअगाडि नाच्नेलाई धेरैले चिन्छन्, तर नचाउनेलाई कमैले चिन्छन्।
सुटिङको क्रममा अन्य कलाकारलाई धेरैले चिन्ने र कोरियोग्राफरको चाहिँ वास्ता नगर्दा शुरू–शुरूमा त चित्त पनि दुख्थ्यो। तर, कोरियोग्राफर भनेको पर्दाअगाडिको कलाकारलाई सिकाउने र नचाउने हो। कलाकारलाई नचाइरहँदा आफूप्रति गर्व पनि लाग्छ।
फिल्म निर्देशन गर्ने सोच पनि छ कि ?
फिल्म निर्देशन गर्ने सोचचाहिँ छैन। अहिले त मलाई नृत्य निर्देशकभन्दा भारी महसुुस हुन्छ। त्यसैले मलाई कोरियोग्राफर भनिदिनुस् भन्छु। त्यसमाथि श्रीमान् पनि फिल्म निर्देशक हुनुहुन्छ। हाम्रो फिल्म उद्योग एकदमै सानो छ त्यस कारण कामको चाप छैन।
एकदमै भ्याई–नभ्याई भएको भए सायद निर्देशनतिर पनि सोचिन्थ्यो होला। अहिले निर्देशनको कामचाहिँ उहाँलाई नै छोडिदिने हो।
अबको योजना के छन् ?
फिल्म होलिडेको साथमा अन्य केही प्रोजेक्टका काम छन्, त्यसको तयारीमा छु। साथै संघमा आबद्ध भइसकेपछि अन्तभन्दा पनि संघको कामहरूमा समय दिनुपर्छ।
प्रतिक्रिया