नेपाल समाचारपत्र, काठमाडौं। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) केन्द्रको २२औं साधारणसभा सम्पन्न भएको छ। ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतित्व तथा सांसद रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा शनिबार आयोजित कार्यक्रम सम्पन्न भएको छ।
सभापतिको आसनबाट बोल्दै कार्यक्रमका सभापति ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिले विगत तीन दशकदेखि स्वयंसेवी रक्तदानको क्षेत्रमा निरन्तर रूपमा लागिरहेको संस्थाले विभिन्न चुनौतीको बाबजुद पनि यहाँसम्म आइपुगेको बताउनुभयो।
उहाँले सहयोग गर्नुहुने अग्रज, महानुभाव, संघसंस्थाका प्रतिनिधिहरू तथा शुभचिन्तकलाई धन्यवाद दिनुभयो। साथै ब्लोदानले स्वयंसेवी रक्तदानको क्षेत्रमा सरोकारवालासँग समन्वय गर्दै अगाडि बढ्दै उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने कार्यमा सक्रिय भएर लाग्ने बताउनुभयो।
कार्यक्रमको उद्घाटन सांसद तथा प्रमुख अतिथि माननीय रामवीर मानन्धरले रक्तदानको महत्वबारे बताउनुभएको थियो। उहँँले ब्लोदानले गर्दै आएका काम सर्हानीय रहेको बताउनुभयो। उहाँले रक्तदानजस्तो मानवीय कार्यमा लागिरहनु भएकोमा ब्लोदानका कार्यसमितिलाई धन्यवादसमेत दिनुभयो।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले प्रत्यक्षरूपमा मानवजीवनसंग सम्बन्ध रहेको रक्तदान जस्तो मानवीय कार्यमा लाग्नु एक पुण्यकार्य भएको बताउनु हुँदै ललितपुर महानगरपालिकाले रक्तदानको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउनुभयो।
त्यस्तै गरी कास्कुनका उपाध्यक्ष नवराज अर्याल, कामनपा १७ वडा अध्यक्ष नवीन मानन्धर, सल्लाहकार राजेश श्रेष्ठलगायत वरिष्ठ सल्लाहकार लोक नारायण सुवेदीले रक्तदान तथा स्वयंसेवी रक्तदाताहरूको महत्व तथा ब्लोदानले यस क्षेत्रमा गरिरहेको सम्बन्धमा चर्चा गर्नुभयो।
सो सभामा महासचिव केशव महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा आवश्यक छलफल पश्चात अनुमोदनसहित पारित गरिएको थियो।
सो कार्यक्रममा ब्लोदान अफ दि इयरबाट ब्लोदानका महासचिव केशब महर्जन, ब्लोदानका सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ तथा केन्द्रीय रक्तसंचार सेवाबाट वरिष्ठ जनसम्पर्क सहायक लक्ष्मी भट्टराईलाई सम्मान गरिएको थियो।











प्रतिक्रिया