नेपाल समाचारपत्र, काठमाडौं।संघीय संसद् सचिवालयले पहिलोपटक सांसदहरू विस्तृत विवरण समावेश गरेको भिडियो बायोग्राफी तयार गरेको छ। सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३१ सांसदको भिडियोग्राफी तयार गरेको हो।
विगतमा सांसदहरूको बायोग्राफी किताबका रूपमा प्रकाशित हुने गरेको थियो। तर सचिवालयले सामाजिक सञ्जालमार्फत पनि सांसदको जीवनीका बारेमा जानकारी दिने उद्देश्यले चार मिनेको भिडियो तयार गरेको हो।
सचिवालयले संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छांयाकन गरेको भिडियोमा सांसदको नाम, हाल निर्वाचित राजनीतिक दल, निर्वाचन क्षेत्र हालको पद, संसदीय समितिको नाम र समितिको पदको विषय भिडियोमा समावेश गरेको छ।
त्यसैगरी भिडियोमा जन्ममिति, जन्मस्थान, बुबाको नाम, आमाको नाम, प्रारम्भिक शिक्षा, विद्यालयको नाम, उच्च शिक्षा अध्ययन गरेको विषय, वैवाहिक जीवन, श्रीमान/श्रीमतीको नाम, छोराछोरीको संख्या भिडियोमा हेर्न सकिन्छ।
सांसदको बायोग्राफीमा सांसदको जेल जीवन, भूमिगत, निर्वासन र बन्दी जीवन मितिसहित समावेश गरिएको छ।
पहिलोपटक नयाँ प्रयोग गर्दै ससद् सचिवालयले प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, मन्त्री, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, राज्यमन्त्री, सहायकमन्त्री सांसद भएको भए मितिसहितको विवरण पनि समावेश गरिएको छ।
विगतमा सांसदीय समितिको सभापति, स्थानीय निकायको जनप्रतिनिधि, राजनीतिक नियुक्ति÷सल्लाहकार हालको राजकीय पद भएको भए पद र सालसहितको विवरण भिडियोमा राखिएको छ।
बायोग्राफीमा दक्षता विज्ञता र रुचिका बारेमा पनि प्रश्न सोधिएको छ। विगतको पेशा/व्यवसाय, विज्ञता, रुचि प्रकाशित कृतिका विषय पनि समेटिएका छन्। सांसदको जीवनकालमा महत्वपूर्ण अभिनन्दन, पुरस्कार सम्मानको विविधि विषय पनि भिडियोमा समावेश गरिएको संसद् सचिवालयले बताएको छ। संसद् सचिवालयले तयार पारेको भिडियो सचिवालयको वेबसाइट पार्लियामेन्ट डक कम डट जीओभी डट एनपीमा अपलोड गरिएको छ।
संघीय संसद् सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले नेपालमा सांसदहरूको भिडियो प्रोफाइल नयाँ प्रयोग भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विगतमा किताबमा सांसदका प्रोफाइल प्रकाशित हुँदै आएको थियो, यसपटक कम खर्चमा हामीले भिडियो प्रोफाइल बनाएका छौं।’
अधिकारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको प्रोफाइल सबै रेकर्ड भइसकेको बताउदै अधिकाशं सांसदहरूको प्रोफाइल वेबसाइटमा अपलोड भइसकेको जानकारी दिनुभयो। भिडियो प्रोफाइल निर्माण गर्न संसद् सचिवालयकै क्यामेरा र जनशक्ति प्रयोग गरिएकाले हालसम्म करिब ७ लाख रुपियाँ भएको संसद् सचिवालयले बताएको छ।
वेबसाइटमा अपलोड गरिएको भिडियो प्रोफाइल मर्यादाक्रमअनुसार राखिएको छ। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी ३ यस ३४ जना सांसद रहेकोमा ३ सय ३१ जना सांसदको भिडियो प्रोफाइल तयार गरिएको छ।
प्रतिनिधिसभा तीनजना सांसदमध्ये रविन्द्र अधिकारीको निधन भएको, अन्य दुई जना प्रतिनिधिसभा सांसद रेशम चौधरी जेलमा रहेको र हरिनारायणप्रसाद रौनियार निलम्बनमा परेका छन्।











प्रतिक्रिया