विश्व सञ्चार परिषद्को नेपाल च्याप्टर गठन

जिम्मेवार पत्रकारिता आजको आवश्यकताः मन्त्री ज्ञवाली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। विश्व सञ्चार परिषद् (वल्र्ड कम्युनिकेटर्स काउन्सिल) नेपाल च्याप्टरको शनिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक समारोहका बीच उद्घाटन गर्नुभयो। परराष्ट्रमन्त्री ज्ञवालीले परिषद्को नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै परिषद्को शुभारम्भ भएको घोषणा गर्नुभएको हो।

सो अवसरमा मन्त्री ज्ञवालीले प्रेसलाई जिम्मेबार बनाउन सरकारले आफ्नो तर्फबाट प्रयास गरिरहेको पनि जानकारी गराउनुभयो। ‘पत्रकारको जिम्मेवारी नेताहरूको पछि लागेर, सेलिब्रिटीहरूको ठट्टा छापेर पुरा हँुदैन, आवाजविहीनको आवाज बनेर, वातावरण विनाश रोक्न नागरिकलाई सचेत गराएर हुन्छ’ –मन्त्री ज्ञवालीको भनाइ थियो।

पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागितामा गठित परिषद्को नेपाल च्याप्टरको १९ सदस्यीय कार्य समितिको अध्यक्षमा लक्ष्मणदत्त पन्त रहनुभएको छ । यसैगरी उपाध्यक्षमा कपिल काफ्ले, सचिवमा उमेश पोखरेल, सहसचिवमा सुरेशकुमार यादव र कोषाध्यक्षमा आरती शिल्पकार रहनुभएको छ।

परिषद्का सदस्यहरूमा यमबहादुर दुरा, डा. अभयराज घिमिरे, अमरध्वज लामा, अनिता विन्दु, तुला अधिकारी, जेबी विश्वकर्मा, सुमन गिरी, कृति भुजु, जगदीश्वर पाण्डे, राधा खनाल, श्रीकृष्ण धिमाल, दीर्घराज उपाध्याय र चन्द्रशेखर कार्की रहनुभएको छ।

विश्व सञ्चार परिषद् नेपाल च्याप्टरका कार्यसमितिलाई पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया, कलकत्ता च्याप्टरका अध्यक्ष विश्वजित दासले शपथ दिलाउनुभयो। सो क्रममा समितिका सदस्यहरूले सुदृढ र सक्षम समुदायका लागि सञ्चार तथा पत्रकारिता जगत्बाट प्राज्ञिक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा दक्षिण एसियामा सम्पादकीय स्वतन्त्रताको अवस्था र सञ्चारमा समावेशिताका मुद्दाका विषयमा छलफल भएको थियो। सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पी खरेल, नेपाल समचारपत्रका सम्पादक कपिल काफ्ले, द राइजिङ नेपालका सम्पादक जगदीश पोखरेल, द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक हरिकला अधिकारी, बाह«खरी डटकमका सम्पादक प्रतीक प्रधान, अनलाइनखबरका सम्पादक अरूण बराल, थाहा खबर डटकमका सम्पादक तीर्थ कोइराला, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झालगायतले प्यानलिस्टका रूपमा सम्बोधन गर्नुभएको थियो।

उहाँहरूले दक्षिण एसियाको सञ्चारमाध्यमको सम्पादकीय स्वतन्त्रता राज्यको राजनीतिक, आर्थिक, सामाजिक वातावरणले प्रत्यक्ष र परोक्ष असर राख्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्चारमा समावेशिताका मुद्दामा प्राध्यापक रामकृष्ण रेग्मी, डा. सुरेश आचार्य, उज्यालो नेटवर्कका निर्देशक मन्टेश्वरी राजभण्डारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा विश्व सञ्चार परिषद्को भारत र बंगलादेशका सञ्चार विज्ञको उपस्थिति रहेको थियो।