१५ करोड बराबरकाे आलु बिक्री, किसान आलुखेतीमतर्फ आकर्षित


न्युज अफ नेपाल, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती गरिँदै आएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलुखेतीमतर्फ आकर्षित हुँदै आएका छन् ।

कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका वागचौर नगरपालिका–१२ की वाफुखोलाकी कमला वलीले आलुखेती शुरु गरेपछि भारत नगएको बताउनुभयो । “२० वर्षसम्म भारतका विभिन्न स्थानमा पुगेर पसिना बगायाैँ, त्यो छाडेर आलुखेती गरेपछि वर्षेनी रु ३ देखि सात लाख बराबरका आलु बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

परम्परागत अन्नबाली लगाउँदा खासै परिवारका आर्थिक अवस्था राम्रो नभएपछि व्यावसायिकरूपमा आलुखेती गर्न शुरु गरेको स्थानीय गणबहादुर वलीले बताउनुभयो । “मेरो १५ रोपनी जग्गा छ, मकै, गह’F लगाउँदा तीन महीनाभन्दा बढी खाना कहिल्यै पुगेन तर अहिले आलुखेतीबाट वर्षेनी रु चारदेखि छ लाखसम्म आम्दानी गर्दै आएको छु”, उहाँले  भन्नुभयो ।

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरीद गर्न थालेपछि किसानमा उत्साहसमेत थपिएको स्थानीय दुर्गाबहादुर वलीले बताउनुभयो । “पहिले आलु लगाउँदा सडक थिएन, आलु बिक्री गर्न धौधौ हुन्छ, तर, अहिले आलु खरीद गर्न व्यापारी बारीमै आउँछन्, यसले किसानमा थप हौसला थपेको छ”, उहाँले भन्नुभयो ।

गाउँमै आलुखेती गर्न थालेपछि भारत जानेको सङ्ख्या न्यून रहेको वडा नं १२ का वडाध्यक्ष दीपक वलीले जानकारी दिनुभयो । “तीन वर्षअघिसम्म यहाँका मानिस वैशाख–जेठमै सबै परिवार लिएर मजदुरीका लागि भारत जाने गर्थे, अहिले आलुखेतीमा लागेपछि भारत जानेको सङ्ख्या नगण्यमात्रामा रहेको छ”, वडाध्यक्ष उहाँले भन्नुभयो ।

यस वडामा आलु भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा परेका वडाध्यक्ष वलीको भनाइ छ । “आलुको पकेट क्षेत्रका रुपमा घोषणा गरिए पनि आलुको भण्डारणगृहको अभाव रहेको छ, यसले गर्दा कृषकले भण्डारण नगरी बारीबाटै आलु बिक्री गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

यस वर्ष मात्रै करीब १२ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ । यस वडाको करीब दुई हजार रोपनीमा आलुखेती गरिएकामा छ हजार मेट्रिक टन आलु निर्यात भएको तथा बाँकी बीउ र स्थानीय बजारमा बिक्री भएको सम्पर्क कार्यालयले जनाएको छ ।

रासस