मोटरसाइकल दाइजो नदिएको भनि श्रीमतीको हत्या


न्युज अफ नेपाल, रौतहट । बिहेमा मोटरसाइकल दाइजो नदिएको भनि श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका वाड नं. ७ अकोलवामा श्रीमती २५ वर्षीया सन्जु देवीको हत्या भएपछि श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाब सहनी र ससुरा मोहन सहीनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिएका छन् ।

उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए । पोष्टमार्टम पश्चात शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रबक्ता कार्कीले जानकारी दिएका छन् । सन्जुको बिहीबार साँझ हत्या भएको मृतकका बाबु अबिलास सहनीले जानकारी दिएका छन् ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृतकका बुबा अबिलाशको दाबी छ ।