नाडाल यूएस टेनिसको सेमिफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)।न्युयोर्कमा जारी स्पेनिस टेनिस स्टार राफाल नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार भएको क्वार्टरफाइनलमा ३३ वर्षीय नाडालले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।

दोस्रो वरीयता खेलाडीले २०औं वरीयताका डिएगोमाथि ६–४, ७–५ र ६–२ को सेटमा जित निकालेका थिए। १८ पटकको ग्रान्डस्लाम विजेता नाडालले अब फाइनल प्रवेशका लागि इटालीका माटियो बेरेट्टिनीसँग खेल्नेछन्।

बेरेट्टिनीले पनि पहिलोपटक अन्तिम चारमा स्थान बनाउने क्रममा फ्रान्सका गाइल मोनफिल्सलाई ३–६, ६–३, ६–३, ३–६ र ७–६ को सेटमा पराजित गरे।

त्यसै गरी महिला सिंगल्सतर्फको सेमिफाइनलमा भने क्यानेडियन किशोरी बियान्का एन्ड्रेस्कुले स्विजरल्यान्डकी बेलिन्डा बेनिचसँग भेट पक्का गरेकी छन्।

१९ वर्षीया बियान्काले बेल्जियमकी एलिसे मर्टेन्सलाई ३–६, ६–२, ६–३ को सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिन्।

त्यसअघि बेलिन्डाले पनि बुधबार भएको क्वार्टरफाइनलमा क्रोएसियाकी डोन्ना भेकिचलाई ७–५, ६–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेकी थिइन्।