एनओसीको निर्वाचन स्थगित

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं। आज हुने भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन साधारणसभा स्थगित भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)द्वारा मान्यता प्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रेस विज्ञप्ति निकाल्दै निर्वाचन स्थगित भएको जानकारी गराउनुभयो।

२०६७ मा सर्वोच्च अदालतले राष्ट्रिय मान्यता दिएको एनओसीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन स्थगित गर्न पाउँभनेर रिट दायर गर्नुभएकोमा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासमा यही भाद्र १७ गते निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेका थिए।

चार वर्षअघि पनि एनओसीको निर्वाचन हुन लाग्दा यसरी नै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। जसले गर्दा निर्वाचन एक महिनापछि भएको थियो। दुवै पक्षसँग छलफल गराउन सर्वोच्च अदालतले भाद्र २२ गते सोमबार पेसी तोकेको छ।

एनओसीका अध्यक्ष श्रेष्ठले बुधबार सर्वोच्च अदालतकोे रिट शाखा (क) बाट आदेशपत्र पाएको जनाउनुभयो। श्रेष्ठले यसबारे नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘सम्माननीय अदालतले दुवै पक्षलाई छलफल गर्न पेसी सोमबार तोकेको छ। सोही दिनको छलफलले कुरा प्रस्ट हुनेछ। यो संस्थागत नभई व्यक्तिगत मुद्दा पनि हो।

हामीले आवश्यक दस्तावेज पनि पेस गरेका छौं। हामीले नेपाली खेलकुदलाई उत्थान गर्न लागेका हौं तर यस्तो बाधा आएकै हुन्छ। यसै गरी हिजै निर्वाचन आयोगले निर्वाचन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ।

निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरेको विज्ञप्तिमा उल्लेख छ। चित्रकारले सरोकारवाला १२ जना तथा एनओसीलाई विपक्षी बनाउँदै मुद्दा दायर गर्नुभएको थियो। गत महिनामा कुनै समस्या नभएको जनाउँदै एनओसीको बैठकले भाद्र २० गतेका लागि निर्वाचन मिति तोकिएको थियो।

१९ सदस्यीय कार्यसमितका लागि निर्वाचन हुने क्रममा पिताम्बर तिम्सिना उपमहासचिवमा र रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अन्यमा अध्यक्षका लागि अध्यक्ष श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

अध्यक्ष श्रेष्ठ गत निर्वाचनमा पनि निर्वाचित हुनुभएको हो। यस्तै ५ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ। यसै गरी १ महासचिव पदका लागि २ जना, ३ सचिव पदका लागि ४ जना तथा ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।