नेपाल समाचारपत्र,रामेछाप।रामेछापको सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलहरूमा म्याद गुज्रेका सामग्री बेच्नलाई तयारी अवस्थामा राखेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयले नियमित बजार अनुगमनको क्रममा बुधबार ठूलो मात्रामा म्याद गुज्रेको इनामेल बरामद गरेको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको बजार अनुगमन टोलीले मन्थलीको देवकोटा चोकनजिक रहेको लक्की हार्डवेयर सप्लार्यस र जिल्ला प्रशासन कार्यालय जाने बाटोमा रहेको वीएस हार्डवेयर सप्लार्यसबाट ६२ लिटर म्याद गुज्रेको इनामेल बरामद गरेको हो।
उक्त परिमाणको म्याद गुज्रेको इनामेल बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेलले पुष्टि गर्नुभयो। त्यस्तै मन्थलीको बीचबजारमा रहेको रेजिना भाँडा पसलबाट परिमाण कम भएको एक थान पाथी पनि जफत गरिएको उहाँले जानकारी दिनुभयो।
यसअघि पनि पटक–पटक बजार अनुगमनका क्रममा सचेत गराउँदा समेत आफूहरूको निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामग्री बेचेर व्यापारीले उपभोक्तामाथि खेलबाड गरिरहेको भुजेलले बताउनुभयो। यस्ता म्याद गुज्रेका सामग्री बिक्री गर्ने हार्डवेयर पसलेलाई कारबाही गरिने उहाँले बताउनुभयो।
प्रतिक्रिया