सरकारले खटाइएको ठाउँमा नजाने कर्मचारीप्रति मन्त्री पण्डित आक्राेशित


सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाइएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् ।

मन्त्री पंडितले सप्तरीको कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

जुन कर्मचारीलाई जहाँ खटाइएको छ । त्यहाँ अनिवार्य जानुपर्छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।’ तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो शुरु हुने मन्त्री पंडित बताएका हुन् ।

उनले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरुले भ्रम मात्र छर्ने काम गरेको बताए । मत्री पण्डितले नेकपा नेतृत्वको सरकार देशमा आमुल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताए । कंचनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै उनले अन्य गाउँ र नगरपालिकाले पनि यस अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

सप्तरीको कंचनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानिय तह घोषणा कार्य विधिमा व्यवस्था भए बमोजिमका सूचकहरु १२ वटै वडाले पुरा गरे पश्चात विहिबार एक भव्य समारोह विच कंचनरुप नगरपालिकालाई बालमैत्री नगरपालिकाको घोषणा गरिएको हो ।

बालमैत्री नगर घोषणा समारोहका प्रमुख अतिथि संघिय मामिला तथा समान्य प्रशासन मन्त्री पंडितले कंचनरुप नगरपालिकालाई बालमैत्री नगरक्षेत्र घोषणा गरेका हुन् ।

संघीयता पछिको नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगर घोषणा भएको जानकारी दिएका नगरप्रमुख बसन्त मिश्रले बालमैत्री नगर घोषणाका लागी आवश्यक पर्ने पूर्व बाल बचाऔं संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास लगायतका कार्यपुरा भएपछि बालमैत्री नगर घोषणा गरिएको बताए ।

उनले बालसंरक्षण र विकासका लागी नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पुरा गरिसकेको उनको भनाई थियो ।