रुपन्देहीमा ४८ जनामा डेंगु भेटियाे, महामारी निम्तने खतरा


यमलाल भुसाल, बुटवल । देशका बिभिन्न जिल्लाहरुमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका समाचारहरु आइरहेका बेला रुपन्देही जिल्लामा पनि डेंगुका बिरामी दैनिक रुपमा फेला पर्ने गरेका छन् ।

बुधवारसम्ममा रुपन्देही जिल्लामा ४८जना डेंगु रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
दैनिक रुपमा डेंगु रोगका बिरामीहरु जुन रुपले फेला पर्ने गरेको तथ्याकलाई मध्य नजर गर्दा रुपन्देहीमा यो रोगले महामारी निम्तने संकेत मिलेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताउनु भयो ।

रुपन्देही जिल्लाको बुटवल स्थित बुटवल अस्पताल प्रालीमा सबैभन्दा बढि २५ जना डेंगु संक्रमित उपचाररत रहेको डा नन्दु पाठकले जनाउनु भएको भन्दै जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ४, आम्दा अस्पतालमा ४ क्रिमशन अस्पताल मणिग्राममा ३ जना डेंगुका बिरामीहरुको उपचार भैरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमण बढ्दै गएको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो ।

यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ ।

फुल पारेको १० देखि १२ दिनमा बच्चा उत्पादन गर्नसक्ने क्षमता रहेको र अहिले सवै भन्दा उपयुत्त मौसम रहेको पनि जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले दैनिक ५जनासम्मलाई टोक्ने गर्दछ । दिउसोमा टोक्ने भएकाले रातीमा झुल लगाएर सुत्नेहरुलाई पनि डेंगु रोग लाग्ने गर्दछ ।

झट्ट हेर्दा बाघजस्तो देखिने भएकाले यो लामखुट्टेलाई टाइगर मस्क्युटो’ पनि भन्ने गरिन्छ । मुलुक संघियतामा गएसंगै जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकार स्थानिय निकायमा हस्तान्त्ररण भएकाले जनस्वास्थ्य कार्यालयमा डेंगु रोग नियन्त्रणका लागि विगत दुई वर्ष देखि वजेट आउन छाडेको कार्यालयले जनाएको छ ।

जिल्लामा डेंगु रोगले महामारी रुप लिन संकेत संगै जनस्वास्थ्य कार्यालयले जिल्लाका सवै स्थानिय निकायलाई रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पत्राचार गरिएको समेत भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । यती हुदाँसम्म पनि जिल्लाका कुनै पनि स्थानिय निकायले जनचेतना मुलक सुचना सम्म पनि जारी गरेका छैनन ।