डिफेन्डिङ च्याम्पियन ओसाका बाहिरिइन्

0
Shares

न्युयोर्क, (एजेन्सी)।फेन्डिङ च्याम्पियन नाओमी ओसाका न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन्। सोमबार राति न्युयोर्कस्थित आर्थर एस स्टेडियममा भएको अन्तिम १६ को खेलमा जापानकी ओसाका पराजित भएकी हुन्।

स्विट्जरल्यान्डकी बेलिन्डा बेन्चिचले उनलाई ७–५, ६–४ ले हराएकी हुन्। यो बेन्चिचको महिला सिंगल्स टेनिसकी विश्व नम्बर एक खेलाडी ओसाकामाथि यो वर्ष तेस्रो जित हो। योसँगै ओसाकाको नम्बर एक स्थान पनि गुम्ने जनाएको छ। उनको स्थानमा अस्टे«लियाकी एश्लेग बार्टी नम्बर एक खेलाडी बन्नेछिन्।

यसको साथै यूएस ओपनको पुरुष र महिला सिंगल्सका दुबै डिफेन्डिङ च्याम्पियन बाहिरिएका छन्। अघिल्लो दिन नोभाक जोकोभिचले काँधको चोटका कारण खेल बीचैमा परित्याग गरेर प्रतियोगिता छाडेका थिए। त्यस समयमा जोकोभिच स्विट्जरल्यान्डका स्टान वावरिन्कासँग २ सेट पछि परेर पनि तेस्रो सेटमा २–० ले पछाडि थिए।

बेन्चिचको यो न्युयोर्कमा दोस्रो क्वार्टरफाइनल प्रवेश हो। यसअघि १७ वर्षको उमेरमा सन् २०१४ मा अन्तिम आठमा पुगेकी थिइन्। उनले अर्को चरणमा क्रोएसियाकी डोना भेकिचसँग हुनेछ। भेकिचले जर्मनीकी जुलिया जर्जेसविरुद्ध म्याच प्वाइन्ट बचाएर ६–७, ७–५, ६–३ ले खेल जितेकी हुन्।

यस्तै स्पेनिस टेनिस स्टार राफेल नाडालले यूएस ओपनको अन्तिम आठमा स्थान बनाए। प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष एकलतर्फको प्रिक्वार्टरफाइनलमा क्रोएसियाका मारिन सिलिचलाई हराउँदै नाडालले क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्। नाडालले ६–३, ३–६,६–१,६–२ को सेटमा २२औं वरियताका सिलिचलाई पाखा लगाएका हुन्।

जितसँगै १८ वटा ग्रान्डस्लाम जितिसकेका नाडालले अन्तिम आठमा २०औं वरियताका अर्जेन्टिनी खेलाडी डिएगो स्वार्चम्यानसँग भेट पक्का गरेका छन्। स्वार्चम्यानले पनि सोमबार भएको अन्तिम १६ को खेलमा जर्मनीका एलेक्जेन्डर जेरेभलाई ३–६,६–२,६–४,६–३ को सेटमा हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्।

त्यस्तै मंगलबारै भएको महिला सिंगल्सको अन्तिम १६ मा विजयी हुँदै क्यानाडाकी एन्ड्रेस्कु पनि क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। उनले अमेरिकाकी टाउनसेन्डलाई ६–१,४–६,६–२ को सेटमा हराइन्।