म्याग्दी, (नेस)। जिल्लामा सम्पन्न अन्तर आमा समूहस्तरीय तीजगीत प्रतियोगितामा मंगला गाउँपालिका–५, अर्मनको नवज्योती आमा समूह प्रथम भएको छ। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा वेनी नगरपालिकाको सहयोग र धौलागिरी नाट्य समूह म्याग्दीद्वारा आयोजित प्रतियोगितामा सहभागी कुल १६ समूहमध्ये नवज्योती आमा समूह प्रथम हुन सफल भएको हो।
प्रतियोगितामा रघुगंगा गाउँपालिका–१, वेगखोलाको मनिबराही आमा समूह द्वितीय, मंगला–२, सल्यानको महारानी आमा समूह तृतीय र वेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी आमा समूह सान्त्वना पुरस्कार पाउन सफल भएका छन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद १२ हजार, ८ हजार, ५ हजार र ३ हजार रुपियाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ। तीजको भाकामा समसामयिक तथा महिला सशक्तीकरणका विषयलाई समावेश गरेर गीत प्रस्तुत गरिएको थियो।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै वेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले हरितालिका तीज सबै नेपालीको चाड भएकाले संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले चाडपर्वले कला, संस्कृतिको जगेर्नाका साथै उजागर गर्नेहुँदा धर्म, संस्कृतिलाई जोगाएर चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभएको छ। अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष मुना बानियाले चाडपर्वलाई मौलिकरूपमा मनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।











प्रतिक्रिया