ललित सिंह, चैनपुर।जिल्लाको उत्तरी नाका चैनपुर तक्लाकोट सड्क खण्डमा सडक निर्माणको लागि बम विष्फोटन कार्य शुरू भएको छ। छिमेकी राष्ट्र चीनसँग सडक सञ्जाल जोड्ने उद्देश्यले अहिले स्वच्छन्द बानिया नागार्जुन जेभी निर्माण कम्पनीले सडक निर्माण कार्य धमाधम गरिरहेको छ।
चैनपुर ताक्लाकोट सडक खण्डअन्तरर्गतको रुमलीगाडको चट्टानमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र कम्पनीका प्रतिनिधिको सहभागितामा बम विष्फोटन गरी कार्य प्रारम्भ गरिएको हो। निमार्ण कम्पनीले चैनपुर ताक्लाकोट सडकखण्ड निर्माण गर्नका लागि २०७४ असार मसान्तमा नेपाल सरकारसँग सम्झौता गरी निर्माण कार्य शुरू गरेको हो।
रुपातोलादेखि माथि उत्तरी नाकातर्फ ८६ करोडको लागतमा ८ लाख घनमिटर कटिङ गरिने र २०७८ असार मसान्तमा सडक निर्माण कार्य सम्पन गर्ने कम्पनीका प्रतिनिधि ईश्वरीप्रसाद भट्टले बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘यो नाका अन्तराष्ट्रिय सडक सञ्जालमा भएकाले स्थानीय सरकार र बासिन्दाले भरपुर सहयोग गरिरहेका कारण निर्माणकार्य सहज भएको छ।’
सो सडकखण्डको निर्माणले स्थानीय जनता पनि हर्षित भएका छन्। दक्षिणी क्षेत्र छिमेकी राष्ट्र भारतसँग जोडिने नाका भन्दा सबै भन्दा छोटो पर्ने भएकाले अहिले चैनपुर ताक्लाकोट सडकखण्ड धमाधम निमार्ण भइरहेकाले स्थानीय जनता खुसी भएका हुन्।
अबको ५ वर्षमा सडकको निर्माण सम्पन्न भएपछि उत्तरी नाका प्रयोग गरेर आवत–जावत गर्न सकिने हुँदा भारतको नाकाबन्दीले खासै असर नपर्ने नेपाल पत्रकार महासंघ बझाङका पूर्वअध्यक्ष जगत खड्काले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘हामी सञ्चारकर्मीले यो नाकाको विषयमा सरकारसँग धेरै पहल गरेपछि यस ताक्लाकोट नाकामा सडक निर्माण कार्य हुने भएको हो, अबका दिनमा पनि सरकारले यो नाकालाई मध्यनजर राखी तीव्र गतिमा कार्य गर्ने हो भने बझाङी जनता मात्र होइन सिंगो देशले नै विकासको अनुभूति गर्न पाउने छ।’बझाङ जिल्लाको उत्तरी नाका साइपाल गाउँपालिका धुलीदेखि उरै भञ्ज्याङ हुँदै छिमेकी देशको ताक्लाकोटसम्म जोड्ने अन्तराष्ट्रिय सडक सञ्जाल हो।
बझाङको सदरमुखकाम चैनपुरदेखि ताक्लाकोटसम्मको दूरी ९२ किलोमिटरमात्र रहेको छ। यो ताक्लाकोट नाका देशभरीको सबैभन्दा छोटो उत्तरी नाका हो। अहिले चैनपुर ताक्लाकोट सडकखण्ड दुईभागमा निर्माण कार्य भइरहेको छ। चैनपुरदेखि रुपातोला सम्म राजेन्द्र निमार्ण सेवा र रुपातोलादेखि माथि स्वच्छन्द बानिया नागार्जुन जेभीले निर्माण कार्य गरिरहेको छ।
जिल्लाका उत्तरी भेगका अधिकांश स्थानीय बासिन्दा अहिले पनि ५ दिनको पैदल बाटो हिडेर ताक्लाकोटबाट दैनिक उपभोग्य सामान र लुगा–कपडा ल्याउँन बाध्य भएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो। उहाँले भन्नुभयो,‘साइपाल गाउँपालिकाबाट जिल्लाको सदरमुकाम चैनपुर पुग्न पैदल ४ दिन लाग्छ र दैनिक उपभोग्य सामान महँगो हुन पुग्छ।’











प्रतिक्रिया