हावाहुरीपीडितका ८ सय ६९ घर निर्माण अन्तिम चरणमा विनियोजित रकमभन्दा कम खर्चमा निर्माण सम्पन्न हुँदै

0
Shares

कृष्ण उदास खनाल, वीरगन्ज। गत चैतमा आएको विनाशकारी हावाहुरीले घरबारविहीन भएका बारा र पर्साका पीडितहरूले करिब पाँच महिनापछि बल्ल बस्ने घर पाउने भएका छन्। गत चैत्र १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट पूर्णरुपमा प्रभावित भएका घरबारविहीनको घरहरूको पुनर्निर्माण सम्पन्न हुन लागेको हो।

हावाहुरी प्रभावितका लागि घर निर्माण गर्न गठित जनता आवास कार्यदलको नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी विनय विक्रम राणाले सबै पीडितको घर निर्माण करिब सम्पन्न भएको जानकारी दिनुभयो। सहायक रथी राणाले लगभग सबै घरको निर्माण कार्य सकिएकोमा बुधबारसम्ममा पीडितलाई घर हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिनुभयो।

उहाँका अनुसार दुवै जिल्लाका ८ सय ६९ घरको निर्माण कार्य सकेर हस्तान्तरण गर्ने तयारी कार्यदलले गरेको छ।कार्यवाहक प्रधानमन्त्री तथा उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबाट पीडितलाई घर हस्तान्तरण गरिने कार्यक्रम रहेको राणाले जानकारी दिनुभयो।

घर निर्माणका लागि गत वर्ष नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले निर्णय गरी सेनालाई जिम्मेवारी दिएको थियो। त्यसको एक महिनापछि गत वैशाख २१ गते उप–प्रधानमन्त्री पोखरेल र उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १२ जनाले बारा र पर्साको १२ स्थानबाट एकैसाथ हावाहुरीपीडितको घर निर्माणको शिलान्यास गरेलगत्तै सेनाले काम थालेको हो।

सेनाले जनता आवासको डिजाइनअनुसार दुई कोठा, एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो। सरकारले प्रतिघर ५ लाख ४५ हजार ९ सय ८५ रुपियाँ ८८ पैसाका दरले रकम निकासा गरेकोमा प्राप्त डिजाइनअनुसार सेनाले सरकारले दिएको रकममा समेत ११.१९ प्रतिशत कम अर्थात् प्रतिघर ४ लाख ८४ हजार ८ सय ८८ रुपियाँमा निर्माण कार्य सम्पन्न गर्न सफल भएको कार्यदलका इन्जिनियर सेनानी महेन्द्र सिँजापति थापाले बताउनुभएको छ।