नेपाल समाचारपत्र, बुटवल। रुपन्देहीको बुटवलमा नेवाः समाज अर्घाखाँची रुपन्देहीले ऐतिहासिक र मौलिक भैरव नाच प्रदर्शन गराएको छ। देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच आयोजना गरिएको थियो। मौलिक भैरव नाच अवलोकन गर्न हजारौं दशनार्थीहरूको भीड लागेको थियोे।
मौलिक भैरव नाच अवलोकन गर्दै प्रदेश सभासद भोजप्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता प्रदर्शनले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। नेवाः समाज अर्घाखाँची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले प्रत्येक एक वर्षको अन्तरालमा जन्माष्टमीदेखि तिहारको औँशीसम्म यो नृत्य हुने गरेको बताउनुभयो।
भैरव नाचअन्र्तगत कालो, सेतो, रातो भैरव र डंकिनीको भेषमा टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरानाचलगायतका नाच प्रदर्शन गरिएको थियो। नेपालको कला, संस्कृति र मुर्तिको विकासमा नेवार समुदायको योगदान रहेको सल्लाहकार देवी श्रेष्ठले बताउनुभयो।
स्थानीय नेवार युवालाई समेटेर नृत्य कलाकार उत्पादनमा समाज लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। भैरव नाचका कारण प्राकृतिक प्रकोप नहुने, अनिष्ट नहुने विश्वास गरिन्छ। नेवार समुदायहरूले घण्टाकर्णदेखि चाड शुरु भएको मान्दछन्।
काठमाडौं, गुल्मी, अर्घाखाँची, पाल्पामा यो नृत्य देखाउने गरिएको सचिव दुर्गा श्रेष्ठले बताउनुभयो। बिसं. २०७५ भदौमा स्थापित संस्थामा २ सय घरधुरीहरूबाट सहयोग हुँदै आएको बताइएको छ। साँझ साढे ६ बजेदेखि राति साढे १० बजेसम्म नाच प्रदर्शन गरिएको थियो।











प्रतिक्रिया