गौहत्यामा संलग्नलाई कारबाहीको माग

0
Shares

नेपाल समाचारपत्र,विराटनगर।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केही दिनअघि मृत भेटिएका गाईगोरुको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

ऊँकार परिवारका रूपमा एकत्रित भएका ती संस्थाले जिल्ला कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्। उनीहरूले सो घटनामा १८ गाई र ६ वटा गोरु मृत भेटिएको तथा सयौंको संख्याका गाईगोरुलाई भीरबाट लडाएर गम्भीर घाइते बनाइएको घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेका हुन्।

हिन्दू जागरण नेपालका मोरङ सचिव कुशलकुमार निरौलाले घटनामा संलग्नलाई पहिचान गरी दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरे। उनले संविधानको प्रस्तावना ९ (३) मा गाईलाई राष्ट्रिय जनावरको रूपमा मानिएको बताउँदै राज्यपक्ष गम्भीर भएर घटनाको अनुसन्धान र कारबाही गर्नुपर्ने बताए।

प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको सो आशयको ज्ञापनपत्र सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष शिवदत्त भट्टराईले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो। ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ भण्डारीले फ्याक्समार्फत प्रधानमन्त्रीको सचिवालयलाई सो ज्ञापनपत्र पठाइने जानकारी दिनुभयो।

ज्ञापनपत्र बुझाउन श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यसहित हिन्दू जागरण नेपाल, वैदिक कर्मकाण्ड परिषद्, ब्राह्मण समाज, निम्बार्क वैष्णव परिषद्, वैष्णव युवा परिषद्, जैन समाज र रामानन्दाचार्य सेवा पिठ चतराधामसहित विभिन्न संघसंस्थाका प्रतिनिधि विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो।

दैलेख सुर्खेत सडकखण्डको जंगलमा भदौ १२ गते २४ वटा गाईगोरु मृत र अन्य दर्जनांै घाइते अवस्थामा भेटिएका थिए।