राक्सिराङ र कैलाशमा गाँजा खेती नष्ट गर्न प्रहरी प्रमुख नै पुगे

0
Shares

हेटौंडा, (नेस)। गाँजा उत्पादनको राजधानीका रुपमा देशमै चिनिएको मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकामा प्रहरीले आइतबारदेखि विशेष अभियान थालेको छ। ती स्थानमा सम्भवतः पहिलोपटक गाँजा फँडानीका लागि प्रहरी प्रमुख नै पुगेका छन्।

प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागूऔषध गाँजा फँडानी गरेको हो। मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशका विभिन्न क्षेत्रका गाँजा फँडानी गरेको हो।

टोलीले राक्सिराङको लावती, हाम्दुङ, खोलाङ्दी, कैलाश गाउँपालिकाको गर्खललगायत क्षेत्रमा लगाइएको डेढ बिगाह गाँजा खेती र १ कठ्ठा गाँजाको ब्याड नष्ट गरेको छ। मकवानपुर प्रहरीको गाँजा नियन्त्रण अभियानअन्तर्गत जिल्ला प्रहरी प्रमुखसहित १५ जनाको टोलीले गाँजा प्रभावित क्षेत्रमा खेती र ब्याड नष्ट गरेको हो। प्रहरीले गाँजा खेती र ब्याड नष्ट गर्न ४ वटा टोली बनाएर राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडामा ६० जना प्रहरी परिचालन गरेको जनाएको छ।