नक्कली तमसुक बनाई ठगी गरेको आरोपमा एक पक्राउ

0
Shares

सर्लाही, (नेस)। मलंगवा नगरपालिका–१० का ५६ वर्षीय कृष्ण साह कलवार (श्याम परदेशी भनिने) नक्कली तमसुक बनाई सर्वसाधारणमाथि ठगी गरेको आरोपमा पक्राउ परेका छन्। आइतबार साँझ साह आफ्नै घर मंलगवा नगरपालिका–१० बाट पक्राउ परेका हुन्।

सर्लाही जिल्ला लालबन्दी नगरपालिका–४ की रुक्मणी चौधरीले नक्कली तमसुक बनाई मिटर ब्याजदरमा साहले ऋण असुली गरेको निवेदन देखेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मोहनचन्द्र भट्टराईले जानकारी दिनुभयो।

साहले आफ्नो नामबाट भन्दा पनि नातेदार, ज्वाँइछोरी, श्रीमती, सासु, सालाजेठानको नामबाट सर्वसाधारणलाई ऋण लगानी गरेको देखिएको छ। जिल्ला अदालत सर्लाहीले साहसँग विभिन्न मितिमा ऋण लिएर ऋण नतिरेको आरोपमा ४० जनालाई प्रकाउ पुर्जी जारी गरेको अभिलेख शाखाका नासु दिनेश मिश्रले जानकारी दिनुभयो।

अदालतले पक्राउ पुर्जी जारी गरेकामध्ये दुई जना पक्राउ परेका छन्। अन्य ४० जना ऋणीलाई पनि जिल्ला अदालत सर्लाहीले प्रकाउ पुर्जी जारी गरिसकेको छ। पीडित ऋणीले साहू साहले ऋण दिने बेलामा दुई किसिमको तमसुक बनाउने गरेको बताएका छन्। तीन वर्षअघि १ लाखको तमसुक बनाएका साहले अहिले ५ लाख माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।