नेपाल समाचारपत्र, विराटनगर। सुरक्षा चेकिङका क्रममा मोटरसाइकलमा सवार महिलाको छातीमा बन्दुकले घोचेपछि स्थानीयले प्रहरीलाई लखेटेका छन्। शनिबार राति विराटनगर–८ अमरटोलमा चेकिङका क्रममा मोटरसाइकल नरोकेपछि रोक्ने क्रममा प्रहरीले बोकेको राइफलले महिलालाई चोट लागेको छ।
भाइ नागेन्द्र यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी कोशी अस्पतालमा कार्यरत राजमनीदेवी यादवको छातीमा बन्दुकको चुच्चोले घोचेको थियो। मोटरसाइकल नरोकिएपछि प्रहरी जवान लक्ष्मेश्वर यादवले राइफल तेस्र्याएर रोक्ने प्रयास गर्दा महिलाको छातीमा घोचेका थिए। त्यसलगत्तै भेला भएका स्थानीयले सीआरभी प्रहरीलाई लखेटेका थिए।
भ्यानसहित प्रहरी भागेर ट्राफिक प्रहरी कार्यालयमा छिरेको थियो। स्थानीयले भ्यानलाई मोटरसाइकलबाट पिछा गरेर छेक्ने प्रयास गरेका थिए। महिलाको नोवेल मेडिकल अस्पतालमा उपचार गरिएको छ। प्रहरीले ताकेर आफ्नी दिदीलाई बन्दुकले हानेको घाइतेका भाइ धर्मेन्द्रले बताउनुभयो।
सीआरभी प्रहरीका नायब निरीक्षक टायमप्रसाद सिवाकोटीले प्रहरीले अगाडि राइफल बोकेर उभिएका ठाउँमा भाग्दै गरेको मोटरसाइकल आएर आफैं ठोकिएको दाबी गर्नुभयो।
चेकिङमा रहेका प्रहरी सहायक निरीक्षक बलकुमार राईलाई स्थानीयले कुटपिटको प्रयास गरेपछि उहाँ लाठीले हान्दै भाग्नुभएको थियो। स्थानीयले लखेटेपछि जिल्ला प्रहरी कार्यालयले चेकिङमा बसेका सबै प्रहरीलाई राति नै अस्पताल लगेर मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गरिएको छ।
राइफल बोक्ने प्रहरी जवान, ड्युटीमा रहेका हवल्दार दीपक भुजेल र प्रहरी सहायक निरीक्षक बलकुमार राईलाई मोरङ प्रहरीले आइतबार अपराह्न कारबाहीस्वरुप जिल्ला प्रहरी कार्यालयमा तानेर घाइतेको उपचार खर्च व्यहोर्न लगाउने भएको छ। सीआरभी प्रहरी बुधहाट चोकका तीन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ उनीहरूका स्थानमा आइतबार नै अरु प्रहरीलाई पठाइएको छ।
चेकिङमा बन्दुकले छातीमा घोचेपछि अस्पताल भर्ना हुनु भएकी घाइते यादव आइतबार वडा प्रहरी कार्यालयको छलफलमा आउनु भएको थियो। उहाँले प्रहरीले ताकेरै बन्दुकले प्रहार गरेको बताउनुभयो। पीडित र पीडक पक्षबीच वडा प्रहरी कार्यालयमा आइतबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीबाट गल्ती भएको बताउँदै उनलाई दैनिक १२ घण्टा ड्युटीमा राखिने बताउनुभयो।











प्रतिक्रिया