गरिबी र अशिक्षाका कारण बालविवाह कायमै न्यूनीकरणका लागि घरघरमा जनचेतना आवश्यक

0
Shares

ईन्द्र गिरी, संखुवासभा। खाँदवारी–८ की सुनिता बर्देवालाई १५ वर्षको कलीलो उमेरमा बच्चा जन्माउँदाको पीडाले अहिले पनि सताउने गरेको छ। अहिले १७ वर्ष मात्र पुगेकी सुनिताका २ वर्षको छोरा रहेका छन्।  किशोर अवस्थामै बच्चा जन्माउँदाको दुःख र पीडाको स्मरण गदै सुनिता भन्छिन– ‘१४ वर्षको कलिलो उमेरमा विवाह गरेर पछुतो लागेको छ।

सानै उमेरमा बच्चा भएकाले होला, शारीरिकरूपमा साह्रै कमजोर भए जस्तो लाग्छ। जीउ लाग्न सकेको छैन।’ उनी बच्चा जन्माउँदाको पीडासँगै बच्चा जन्माएपछि स्याहार सुसार गर्न नजान्दामा निकै दुःख पीडा भोग्नु परेकोमा पश्चात्ताप गर्छिन्।साधारण लेखपढ गर्न पनि नजान्ने र आफ्नो स्याहार गर्न समेत नसक्ने अवस्थामा विवाह गरेर निकै दुःख र पीडा भोग्नु परेको दुखेसोे सुनिताको छ।

सानै उमेरमा विवाह गर्न हुने नहुने र स्वास्थ्य अवस्थालगायत कानुनी व्यवस्थाका बारेमा कुनै जानकारी नभएको सुनिता बताउँछिन। अहिले स्वास्थ्य अवस्था कमजोर भएकोले दैनिक काम गर्नसमेत निकै कठिन हुने गरेको सुनिताको भनाइ छ।सुनिताका बाबु बब्लु बर्देवा भने छोरीको सानै उमेरमा विवाह गर्न हुने नहुने र स्वास्थ्यलगायत कानुनी समस्याका बारेमा कुनै जानकारी नभएको बताउँछन। उनी भन्छन्– ‘छोरी माग्न आए, दिएर पठाएँ।

अहिले छोरीको अवस्था देख्दा दुःख लाग्छ।’ उनी भन्छन्, ‘आफूले पढ्न पनि सकिएन, छोरीलाई पनि गरिबीको कारण पढाउन सकिएन। अहिलेसम्म दैनिक ज्यालादारी काम गरेर परिवारको गुजारा चलाउँदै आएको छु।’ उनी मात्र होइन, उनकै एकाघरकी ठूलो बुबा मानबहादुर बर्देवाकी छोरी सम्झना पनि १५ वर्षकै कलिलो उमेरमा जिल्लाकै नमुमा विवाह गरेर गएकी थिइन्। उनले १९ वर्ष नपुग्दै २ सन्तान जन्माएको उनका बाबु मानबहादुरले बताए।

उनी भन्छन्– ‘छोरीको विवाह गर्नुपर्ने, त्यसैले आफ्नै जातको मान्छेले माग्न आएपछि दिएर पठाएँ।’ आफूसँग विवाह गरिदिने पैसा नभएपछि माग्न आएकै दिन छोरी दिएर पठाएको उनले बताए। १८ वर्षको उमेरमा दुई सन्तानको आमा बनेकी किशोरी सम्झना भन्छिन्– ‘उमेर नपुग्दै बच्चा जन्माएकोले होला, कहिल्यै जीउ लाग्न सकेको छैन’। उनले सानै उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा हुने असरका बारेमा आपूm अनविज्ञ रहेको बताउँदै सुत्केरी अवस्थामा कहिलेकाहिँ त पेटभरि खानसमेत नपाएको दुखेसो सम्झनाको छ।

त्यस्तै खाँदबारी–१ की जीतबहादुर सार्कीकी छोरी मनिषा सार्की पनि १५ वर्षको उमेरमा विवाह गरी १६ वर्षको उमेरमा आमा बनेकी छन्। दैनिक ज्यालादारीमा काम गर्ने आमाबुबासँगै ज्यालादारीमा काम गदै हिँड्दा उनले पनि ट्याक्टर सहचालकसँग प्रेम विवाह गरेकी थिइन्। उनको अहिले १ वर्षको छोरी रहेकी छिन्।

त्यस्तै १६ वर्षको उमेरमा विवाह गरी ११ महिनाको छोरी रहेको बताउने खाँदवारी–१ कै कल्पना मगरले कलिलो उमेरमा विवाह गर्दा हुने समस्याका बारेमा जानकारी नभएको बताइन्। जिल्लामा सुनिता, मनिषा मात्र होइन सयौं किशोरीले शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्नेको संख्या धेरै रहेको खाँदबारी–३ का बुद्धिजीवी भरत घिमिरेको बुझाइ छ।

किशोर अवस्थामा विवाह गर्नेको संख्या धेरै हुनसक्ने संखुवासभा इन्सेक प्रतिनिधि बाबुराम बाँस्तोला बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘किशोरावस्थामै मागी र भागेर विवाह गर्ने सयौं हुन्छन् तर कानुनी कारबाहीको डरले कुरा बाहिर आउँदैन।’ घर–परिवारमा मिलेमतो भएकोले घटना बाहिर आउन नसकेको उहाँको तर्क छ। उहाँले सानै उमेरमा विवाह गर्ने समस्या धेरै जसो दलीत समुदायमा देखिएको बताउँदै अन्य जातिमा भने गरिबी र अशिक्षाको कारण सानै उमेरमा विवाह गरिदिने गरेको पाइएको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ संखुवासभाका सचिव अनिष विष्ट भने राज्यद्वारा किशोर अवस्थामै विवाह गर्न नहुने कानुनी व्यवस्था भए पनि सयौं किशोरकिशोरीले विवाह गर्ने गरेका छन्। सानै उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी नहुनाले पनि सानै उमेरमा विवाह गर्ने गरेकाले कानुनी व्यवस्थालगायत शारीरिक र मानसिक रूपमा स्वास्थ्यमा पर्ने असर बारेमा समुदाय स्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँको सुझाब रहेको छ।