जनताको तटबन्ध कार्यक्रम प्रभावकारी बन्दै

0
Shares

नेपाल समाचारपत्र, झापा । झापामा सञ्चालन भएको जनताको तटबन्ध कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विभिन्न नदीमा आउने बाढीका कारण झापामा धेरै धनजनको क्षति हुन थालेपछि तत्कालीन अवस्थामा रहेको सिँचाइ मन्त्रालयले जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. १, गैडे झापामा स्थापना गरेको थियो।

सुरुमा कन्काई, रतुवा र मावा नदी व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालयको कार्य क्षेत्र बिरिङ, कमल नदी हुँदै आर्थिक वर्ष २०७५/०७६ बाट मेची नदीसम्म विस्तार भएको छ। आव २०७५/०७६ बाट जोखिमयुक्त सदरमुकाम बचावट कार्यसमेत यस कार्यालयको कार्यक्षेत्रभित्र आएको छ। आर्थिक वर्ष २०७५/७६ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत स्थानीय तहमा बजेट विनियोजन भई नदी नियन्त्रण भइरहेको छ।

कार्यालयको तथ्यांकले आर्थिक वर्ष २०७४/०७५ सम्ममा रतुवा मावा नदीमा २० किमि, कमल नदीमा ५.५ किमि, कन्काई नदीमा १५.९ किमि, बिरिङ नदीमा १५.५ किमि, मेची नदीमा ३.५ किमि गरी कुल जम्मा ६०.४ किमि तटबन्ध निर्माण भइसकेको देखाएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/०७६ रतुवा–मावा नदीमा ७ किमि, कमल नदीमा २.२ किमि, कन्काई नदीमा २.९ किमि, बिरिङ नदीमा २.७ किमि, मेची नदीमा ०.८ किमि, जोखिमयुक्त सदरमुकाम बचावट कार्यक्रमअन्तर्गत १.७ किमि गरी कुल जम्मा १७.३ किमि तटबन्ध निर्माण गरिएको छ।

परम्परागत रुपमा अपनाउँदै आइरहेको नदी नियन्त्रण प्रविधि महँगो हुने भएको र ढुंगाको उपलब्धतासमेत समस्याका रुपमा रहेकाले यसैलाई मध्यनजर गरी चालू आर्थिक वर्षदेखि नै जलस्रोत तथा सिँचाइ विभागले बेम्बो तथा आरसीसी प्रोक्युपाइन, टेटाहाइड्रल, क्रिस्मर सिस्टम आदि प्रयोग गर्ने गरी ‘नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजना’ स्थापना गरी कार्यको थालनी गरेको छ।

कार्यालय प्रमुखले दिनुभएको जानकारीअनुसार यस आर्थिक वर्षका लागि दीर्घकालीन नदी नियन्त्रण योजनाअन्तर्गत रतुवा–मावामा ३.८९ अर्ब, कमलमा १.७७ अर्ब, कन्काईमा ३.९ अर्ब, बिरिङमा २.४६ अर्ब र मेचीमा ५.५७ अर्ब गरी कुल १७ अर्ब ५९ करोड बराबरको डीपीआर यस कार्यालयबाट तयार गरी जलस्रोत तथा सिँचाइ विभागबाट २०७६ असार १८ गते स्वीकृत भएको छ।

स्वीकृत भएबमोजिम बहुवर्षीय कार्यक्रमको खरिद गुरुयोजना स्वीकृतिका लागि जलस्रोत तथा सिँचाइ विभागमा पेस गरिएको कार्यालयको भनाइ छ। कार्यालयले रतुवा मावा नदिमा तारावारी, वीरेन्द्रडाँगी, छिन्ताङे टोल, राजावासालगायतका स्थानमा तटबन्ध गरेको छ। त्यसै गरी कमल नदीको बोहरा टोल, सुकुम्बासी टोल, सुनारा, सरङपाडा, पाँचगाछीलगायतका स्थानमा तटबन्ध निर्माण गरिएको छ।

कन्काई नदीको चिल्लागढ, गोल ग्राउन्ड, हात्तीसार, रंगियाथान, कुवाडीलगायतका स्थानमा पनि तटबन्ध गरिएको छ। बिरिङ नदीको खुदुनाबारी, पानिकल, गोलुवारी, शरणामती, मोटापानीलगायतका स्थानहरूमा तटबन्ध निर्माण गरिएको छ। मेची नदीको पाठामारी, बाहुनडाँगीलगायतका स्थानहरूमा तटबन्ध निर्माण भएको छ। सदरमुकाम बचावट कार्यक्रम अन्तर्गत गैरीगाउँ, भाङवारी, भैंसावाडी, शान्ति टोललगायतका स्थानमा तटबन्ध निर्माण भएको छ।