नेपाल समाचारपत्र, महेन्द्रनगर।कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ। समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीलाई तहगतरूपमा मिलान गर्न अप्ठ्यारो भएको छ। स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजनअन्तर्गत अर्कै तह र क्षेत्रको कर्मचारी पठाउँदा व्यवस्थापनमा समस्या भएको हो।
दुई गाउँपालिका र सात नगरपालिका रहेको जिल्लाका स्थानीय तहमा समायोजन हुँदा एक तह बढुवा हुने प्रावधानले समेत तहगतरूपमा मिलान हुन नसकेको हो। हाल यहाँका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी छैनन्। कर्मचारी भएपनि कतै दरबन्दी भन्दा कम र कतै बढी रहेका छन्। कतै एक जनाको दरबन्दी रहेको स्थानमा दुई–तीन जना छन् भने कतै रिक्त छ।
यो समस्या यतिबेला अधिकांश स्थानीय तहमा परेको छ। सामान्य प्रशासन मन्त्रालयबाट पठाएका कर्मचारीको व्यवस्थापन गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत अलमलमा परेका छन्।
बेदकोट नगरपालिका
बेदकोट नगरपालिकामा कर्मचारी समायोजनअन्तर्गत सामान्य प्रशासन मन्त्रालयले तीन जना कर्मचारी खटाएको छ। जसमा छैटौं तहका अधिकृत (टाइपिस्ट)को दरबन्दी छैन। तर यहाँ कर्मचारी खटाइएको छ। यस्तै बेदकोट नगरपालिकाको सहायक पाँचौं तहको दरबन्दी रहेको स्थानमा छैटौं तहको कर्मचारी पठाइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ सहायक पाँचौं तहको दरबन्दी छ। यद्यपि त्यहाँ कर्मचारी भने छैटौं तहको खटाइएको छ।
भीमदत्त नगरपालिका
भीमदत्त नगरपालिकामा महिला बालबालिका र ज्येष्ठ नागरिक शाखामा पाँचौं तहको कर्मचारीको दरबन्दी छ। तर छैटौं तहका कर्मचारी पठाइएको छ। यसैगरी कृषि शाखामा पनि आवश्यक दरबन्दीभन्दा बढी कर्मचारी पठाइएको छ। स्थानीय तहमा अहिले पनि इन्जिनियर र ओभरसियर नहुँदा योजनाको अनुगमन तथा निरीक्षण नियमित हुन सकेको छैन्। तर समायोजनका क्रममा जथाभावी कर्मचारी पठाउँदा व्यवस्थापनसँगै स्थानीय तहमा अतिरिक्त व्ययभार समेत बढ्ने देखिएको छ।
शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटा नगरपालिकामा पनि फरक तह र दरबन्दी नभएका कर्मचारी आउने क्रम जारी छ। उक्त नगरपालिकामा प्रशासनतर्फका अधिकृत १ जनाको दरबन्दी छ। तर समायोजनका क्रममा तीन जना आइसकेका छन्। दरबन्दी कायम गर्ने र खारेज गर्न सक्ने अधिकार पनि स्थानीय तहलाई नै छ। शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन थापाले भने– ‘प्रशासनका अधिकृत स्तरका कर्मचारीलाई वडा कार्यालयमा पनि पठाउन सकिने भएकाले त्यही अनुसार गरिन्छ।’











प्रतिक्रिया