तीजको सांस्कृतिक पक्ष लोप हुँदै गएकोमा चिन्ता

0
Shares

नेपाल समाचारपत्र, बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने सांस्कृतिक पर्व तीजको मौलिकता लोप हुने खतरा बढ्दै गएको छ। तीजलाई तृतीया भनेर मनाइने भए पनि पछिल्लो समयमा यो पर्वको सांस्कृतिक पक्ष लोप हुँदै गएको हो।

तीजका बेला गाईने सगुन, फाग र देउडा गीतहरू क्रमशः लोप हुँदै गएको सुर्नया–६ शंकरपुरका हरिना अवस्थीले बताउनुभयो। तीजका दिन सबै महिला एक ठाउँमा जम्मा भएर सगुन, फागसहित शिवपार्वतीको पूजा गर्ने चलन रहे पनि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ। तीजको दर खाने नाममा एक महिना पहिलादेखि नै भड्किला कार्यक्रमहरू हुन थालेका छन्।

महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले तीजमा डिजेका गीतमा नाच्न थालेपछि मौलिक संस्कृति ओझेलमा पर्दै गएको बताउँदै तीजको सांस्कृतिक पक्ष लोप हुँदै गएको प्रष्ट पार्नुभयो।

तीजका बेला गाइने देउडा गीतहरू पनि लोप हुन थालेका छन्। शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चामा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।