गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारी

0
Shares

कृष्ण उदास खनाल, वीरगञ्ज।  पर्साको एक गाउँपालिकालाई पूर्णरूपमा मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ। जिल्लाको पकाहामैनपुर गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको हो। गाउँपालिकामा मदिराकै कारण हिंसाका घटना बढेको जनगुनासो पछि मदिरा निषेध गर्न लागिएको हो।

जेष्ठ नागरिकको सुरक्षा र जेष्ठ नागरिकविरुद्ध हुने अपराधका बारेमा छलफल गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधिले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले गाउँपालिकालाई मदिरामुक्त क्षेत्र बनाइने घोषणा गर्नुभएको हो।

गाउँपालिकाको बोर्ड बैठकबाट पास गराएर गाउँमा मदिरा उत्पादन, बिक्री र सेवन सबैमा प्रतिबन्ध लगाउने चौरसियाको भनाइ छ। ‘उत्पादक र व्यापारीहरूलाई केही समय दिन्छौं, त्यसपछि पालिकामा मदिरा उत्पादन, किनबेच र सेवनमा समेत प्रतिबन्ध लगाउँछौं।’

चौरसियाले भन्नुभयो,‘अटेरी गर्नेलाई कारवाही गर्छांै।’ कार्यक्रममा सहभागी वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले पनि निर्णयमा सहमति जनाइसकेको उहाँको भनाइ छ।