डेंगु रोकथामका लागि अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र, डोटी। डेंगु रोगका कारण जिल्लामा एकजनाको मृत्यु भएपछि डेंगु रोकथामका लागि जिल्लाभर अभियान शुरू गरिएको छ। सोमारबाट शुरू गरिएको उक्त अभियानमा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेंगुका बारेमा जानकारी गराउनुका साथै डेंगु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य शुरू गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो।

प्रजिअ पौडेलले भन्नुभयो– ‘हामी रोकथाम गर्ने अभियानमा छौं, जिल्लाभर यो अभियान शुरू गर्दैछौं।’ यहि भाद्र ५ गते जिल्लामै पहिलोपटक डेंगु रोगका कारण डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्ला बस्ने ४२ वर्षीया छत्रकुमारी मलासी ‘छायाँ’ को मृत्यु भएको थियो। उहाँको मृत्यु भएसँगै जिल्लामा यस रोगको रोकथामका लागि अभियान शुरू गरिएको हो।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, जिल्ला समन्वय समिति उप–प्रमुख शशी शोव, डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी उपरीक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधि, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन डा. भूषण मिश्रलगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेंगु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य गरेको हो।

 

डेंगु रोगबाट बच्न विशेषगरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरू, भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्कालगायतको खोजी गरी त्यसका फुलहरू नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुला भागमा मलम प्रयोग गर्नुपर्नेलगायतका उपाय अपनाउनुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले बताउनुभयो।

 

नगरपालिकाको थाप्ला गाउँमा जाँदा टाइगर मस्क्यिूटो भनेर चिनिने एडिस प्रजातिको लामखुट्टे फेला परेको स्वास्थ्य कार्यालय डोटीका विष्णुराज जोशीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘डेंगु नियन्त्रण अभियानमा जाँदा हामीले केही स्थानमा एडिस लामखुट्टेले पानीमा फुल पारेको भेटायौं र उक्त फुलहरू नष्ट गर्यौं।’

त्यसैगरी दिपायल सिलगढी नगरपालिका भित्रका स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले जानकारी दिनुभयो।

स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेविकाले आफूले काम गर्ने गाउँमा आमा समूह, महिला समूहमार्फत डेंगु बारे सचेतना फैलाउने निर्णय समेत गरिएको छ। त्यस्तै जिल्लामा रहेका विभिन्न विद्यालयमा समेत डेंगुको बारेमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी डेंगु नियन्त्रण र त्यसको बारेमा जानकारी दिन विद्यालयमा कार्यक्रम गरी विद्यार्थीलाई समेत परिचालन गर्ने तयारीमा छौं।’

डेंगु रोगबाट बच्न विशेषगरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरू, भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्कालगायतको खोजी गरी त्यसका फुलहरू नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुला भागमा मलम प्रयोग गर्नुपर्नेलगायतका उपाय अपनाउनुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो– ‘घर सफा राख्ने, पानी जम्ने भाँडाकुडा सफा गर्नाले लामखुट्टेले फुल पार्न सक्दैन र शरीर ढाक्ने लुगाको प्रयोग गरे डेंगु रोगबाट जोगिन सकिन्छ।’