काठमाडौं, (नेस)।मेलम्ची खानेपानी आयोजनाका मजदुरले फेरि काम ठप्प पारेका छन्। दुई महिनाको तलब दिन आनाकानी गरेको भन्दै मेलम्चीको मजदुरले काम रोकेका हुन्।
असार अन्तिमदेखि तलब पाउनुपर्ने माग राख्दै मजदुरले सुन्दरीजल खण्डको काम अवरोध गरेका थिए। त्यसको दुई हप्तापछि सहमति भई आन्दोलनलाई स्थगित गरेका थिए।
त्यसपछि काम सुचारु भएको थियो। तर, एक्कासि आइतबारदेखि फेरि तलब पाउनुपर्ने माग राख्दै काम ठप्प पारेको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए।
रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि मजदुरले आन्दोलन फिर्ता लिएका थिए। मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा लिएका मजदुर तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।
‘सरकारको उच्च तहले निर्णय गराई तलब दिन पहल गर्ने भनेर सहमति गराएका थियौं’, आयोजनाका एक उच्च अधिकारीले भने– ‘सरकारले नै निर्णय गर्न ढिलाइ गरिरहेको छ। काम पनि पटकपटक अवरोध भइरहेको छ। यसरी कसरी काम गर्न सकिन्छ र?’
आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छोडे पनि सुरुङभित्र भेन्टिलेसन स्याफ्टका लागि छुट्टै ठेक्कामा काम भइरहेको छ। आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काममा अवरोध पुगेको छ।
मजदुरले सीएमसीसँग काम गर्दा पाउनुपर्ने तलबको माग राख्दै आन्दोलन शुरू गरेका थिए। आन्दोलनकै कारण भेन्टिलेसन स्याफ्ट, सुन्दरीजल पानी प्रशोधन केन्द्र, पाइप बिछ्याउने कामसमेत प्रभावित बनेको छ।
सुरुङको सुन्दरीजल खण्डमा भेन्टिलेसन स्याफ्टको काम भारतीय कम्पनीले सब कन्ट्र्याक्टरको भूमिकामा गरिरहेको छ भने पानी प्रशोधन केन्द्र र पानीको पाइप बिछ्याउने काम अर्कै ठेक्काअन्तर्गत भइरहेको छ।
आन्दोलनरत मजदुरले दुई महिनाको तलब लिन बाँकी रहेको बताएका छन्। करिब ७० मजदुरको ५० लाख रुपियाँ तलब लिन बाँकी रहेको र नदिए काम गर्न नदिने ज्ञापनपत्र प्राप्त भएको आयोजनाले जनाएको छ।











प्रतिक्रिया