काठमाडौं, (नेस)। धोबीखोला कोरिडोरको विभिन्न खण्डमा फोहोर थुपार्द समस्या उत्पन्न भएको जनाएको छ। उपत्यकाको फोहोर उठाउने जिम्मा पाएको ठेकेदारले धोबीखोलाको विभिन्न भागमा फोहोर थुपारिदिँदा समस्या भएको हो। कोरिडोरको निर्माण सम्पन्न भइसकेको र हुन बाँकी रहेको स्थानमा ठेकेदारले फोहोर थुपारेका छन्।
ती स्थानलाई ठेकेदारले फोहोर थुपार्ने थलो नै बनाइदिएका छन्। मुख्य गरी सडक पेटीको खाली भाग, फुटपाथ, पुलमुनिका भागहरूमा फोहोर थुपारिदा समस्या भएको धोबीखोला सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर सज्जन कुँवरका अनुसार रातोपुल, सेतोपुल बैजनी पुललगायतको खाली रहेको स्थान र पुलमुनिको सडकलाई नै अतिक्रमण गरेर फोहोर संकलन केन्द्र नै बनाएको छ।
फोहोर उठाउने ठेकेदारले खाली भाग देखिने सडक पेटी, फुटपाथलाई समेत संकलन केन्द्र बनाएका छन्। जसले गर्दा यात्रुलाई यात्रा गर्न सकस भएको छ भने सवारी आवागमनमा समेत समस्या थपेको छ। ठेकेदारले फोहोर समयमै नउठाउँदा विस्तार गर्न बाँकी रहेको सडकको कामसमेत अघि बढाउन नसकेको इन्जिनियर कुँवरले बताउनुभयो। ‘मुख्य गरी पुलमुनिको खाली भाग, फुटपाथको भागमा फोहोर थुपारिँदा बाटो विस्तारमा समेत समस्या देखिएको छ।’ –उहाँले भन्नुभयो।
महानगरपालिकालाई फोहोर उठाउन पटक–पटक ताकेता गरे पनि फोहोर नउठेको भन्दै आयोजनाका एक उच्च अधिकारीले चिन्ता व्यक्त गरे। उनले भने– ‘हामीले महानगर, वडा कार्यालयमा सातआठपटक फोहोर उठाउन भूमिका निभाउन पत्रमार्फत आग्रह गर्यौँ तर अहिलेसम्म हाम्रो पत्रको न जवाफ आयो न समस्या नै हल भएको छ।’
खैरोपुल (बागमती दोभान)देखि बैजनी पुल (गोपीकृष्ण चाबाहिल)सम्म १२ किलोमिटर सडकको भागमा कालोपत्रे गरिसकेको छ। वर्ष दिनअघि मात्रै कालोपत्रे सम्पन्न गरिसकेको यस सडकमा फोहोर थुपारेर सडकमा यात्रा गर्ने यात्रुहरूलाई सकस बनाएको छ। यो समस्या अहिलेसम्म ज्युँको त्युँ छन्।
कोरिडोरको ट्र्याक खोल्दादेखि यसरी मिचेको ठेकेदारले अहिलेसम्म छोडेको छैन। सडक अतिक्रमण गरी यसरी फोहोर थुपार्ने ती ठेकेदार को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। गोपीकृष्णदेखि कपन भंगाल हुँदै राममन्दिरसम्म विस्तार हुने यो कोरिडोरमा नयाँ ट्र्याक खोल्ने कामसमेत भइरहेको छ।
आयोजनाले यसका लागि ठेक्कासमेत आ≈वान गरी प्रकृया अगाडि बढाइसकेको छ। तर उपत्यकाको बढ्दो सवारी चापलाई घटाउन परिकल्पना गरिएका यस्ता कोरिडोरलाई अतिक्रमण गरी थुपारिएको फोहोरले गर्दा यातायातलाई समस्या नै गरेको छ।











प्रतिक्रिया