नयाँ सवारी दर्ता नगर्न सांसद श्रेष्ठको आग्रह

0
Shares

काठमाडौं, (नेस) ।विवेकशील नेपाली दलका सांसद विराजभक्त श्रेष्ठले प्रदेश नं ३ मा नयाँ सवारी साधन दर्ता नै नगर्न प्रदेशसभामा सचेत गराउनुभएको छ।
प्रदेशसभामा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौँको ट्राफिक जामलाई मध्यनजर गरी केही समयका लागि नयाँ सवारी साधन दर्ता गर्न नहुने उहाँको तर्क थियो।

‘रेल आउँछ, जहाज आउँछ भन्याथ्यो तर केही पनि आएन’ आक्रोस पोख्दै उहाँले भन्नुभयो– ‘सडक र सवारी साधनको अनुपात नमिल्ने भएकाले नयाँ सवारी साधन दर्ता नगरौँ, बरु ट्राफिक बत्ती र जेब्रा क्रसिङ निर्माणमा ध्यान दिऊँ।’ सांसद श्रेष्ठकै पहलमा काठमाडौँको ताहाचलका भित्री सडकमा सडक बत्ती सञ्चालनमा आएका छन्।

सडक बत्ती सञ्चालनमा आउन सके पनि जेब्राक्रसिङ नहुँदा काठमाडौँका भित्री सडकहरूमा सडक नियम पालना नहुने र धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाउँदै आएको छ।पटक–पटक प्रदेश सरकारलाई आग्रह गर्दा पनि सरकारले सडक सुरक्षाका सवालमा संवेदनशीलता नदेखाएको उहाँको भनाइ छ।

सडक सुरक्षा र संवेदनशीलता नअपनाएकाले हजारौँ नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेकोप्रति सरकार सचेत नदेखिँदा सांसदहरूले संघीय संसद् एवं प्रदेशसभामा आवाज उठाउँदै आएका छन्।