गाँजाको राजधानीमै प्रहरी पुगेपछि


न्युज अफ नेपाल, हेटौंंडा । गाँजा उत्पादनको राजधानीका रुपमा देशमै चिनिएको मकवानपुरका केही क्षेत्रमा प्रहरीले आइतबारदेखि विशेष अभियान थालेको छ । ती स्थानमा सम्भवतः पहिलोपटक गाँजा फँडानीका लागि प्रहरी प्रमुख नै पुगेका छन् ।

प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फँडानी गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशका विभिन्न क्षेत्रका गाँजा फँडानी गरेको हो । यसप्रकारको कार्य निरन्तर जारी रहने प्रउ सिंहले बताउनुभयो ।

टोलीले राक्सिराङको लावती, हाम्दुङ, खोलाङ्दी, कैलाश गाउँपालिकाको गर्खललगायत क्षेत्रमा लगाइएको डेढ बिगाह गाँजा खेती र १ कठ्ठा गाँजाको ब्याड नष्ट गरेको छ । मकवानपुर प्रहरीको गाँजा नियन्त्रण अभियानअन्तर्गत् जिल्ला प्रहरी प्रमुखसहित १५ जनाको टोलीले गाँजा प्रभावित क्षेत्रमा खेती र ब्याड नष्ट गरेको हो ।

प्रहरीले गाँजा खेती र ब्याड नष्ट गर्न ४ वटा टोली बनाएर राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडामा ६० जना प्रहरी परिचालन गरेको जनाइएको छ ।

अघिल्ला वर्षहरुमा गाँजा नष्ट गरेर फर्किने गरेको प्रहरीले यस वर्षदेखि गाँजा किसानलाई पनि पक्राउ गरी मुद्धा चलाउने भएको छ । पहिला ब्याड र बारीमा लगाइएको गाँजामात्र नष्ट गथ्र्यो प्रहरीले, तर गाँजा खेती यसरी निर्मूल नभएपछि यस वर्षदेखि गाँजा फँडानीसँगै गाँजा रोप्नेलाई पनि पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

राज्यले निषेध गरेको काम रोक्नु हाम्रो कर्तव्य हो । लगातार ३/४ वर्ष फँडानी गरेका हौं, अब फँडानीसँगै किसानलाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने काम हुनेछ,’ प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवामध्ये ६४ प्रतिशत लागुऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषधमध्ये गाँजा ओसारपसारमा संलग्नता बढी पाइएको छ ।

हरेक वर्ष कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका विभिन्न बस्तीमा गाँजाखेती हुँदै आएको छ । पछिल्ला वर्षमा प्रहरीले बजेट र जनशक्ति अभावका बाबजुद गाँजा फँडानी गर्ने गरेको छ ।

मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधसहित २ सय ५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये भारतीय नागरिक २७ पुरुष र ३ महिला छन् । उक्त अवधिमा नेपाली पुरुष १ सय ६९ जना र महिला ६ जना पक्राउ परेका थिए ।

प्रहरीले मकवानपुरबाट आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार १ सय ८८ किलो गाँजा बरामद गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष प्रहरीले मकवानपुरबाट १ हजार १ सय ५ किलो गाँजा बरामद गरेको तथ्यांक छ ।