नेपाल समाचारपत्र, काठमाडौं । एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिनु पर्ने लगायतका विभिन्न ८ बुँदे माग सहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीको माग प्रति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चासो व्यक्त गरेका छन् । उनले विश्वविद्यालयमा भएको तालाबन्दी खुलाउन पहल शुरु गरेका छन् ।
सोमबार मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर वार्ता समिति बनाएर विद्यार्थीसँग छलफल शुरु गर्न निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिनुभयो ।
बैठकमा त्रिविका कार्यवहाक उपकुलपति प्राडा डिल्लीराज शर्मा, चिकित्सा संकायका डीन प्राडा जगदिश अग्रवाल र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन निर्देशन दिनुभएको थियो ।
मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन टीयू र केयूका पदाधिकारीलाई निर्देशन दिनुभएको हो ।
उहाँले विद्यार्थीका माग पूरा गर्नका लागि तत्काल वार्ता समिति बनाउन समेत निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट विद्यार्थीले आईतबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा तालाबन्दी गरेका थिए । विश्वविद्यालय र प्रतिष्ठानहरूले पुरानै तरिकाबाट भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।
तर विद्यार्थीले चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिनु पर्ने, ऐनकै व्यवस्था बमोजिम ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने, स्वदेशी लगानीबाट सञ्चालित कलेजहरूले कुल सिट संख्याको कम्तीमा १० प्रतिशत र स्वदेशी र विदेशी संयुक्त लगानीमा खुलेका शिक्षण संस्थाले कुल २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका रूपमा नेपाल सरकारलाई उपलब्ध गराउनु पर्ने, मेडिकल कलेजले विभिन्न शीर्षकमा असुल्दै आएको मनोमानी शुल्क फिर्ता गर्नुपर्ने, वस्तुगत प्रश्नको उत्तरपुस्तिका परीक्षा पछि सार्वजनिक गरिनु पर्ने, अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही हुनुपर्ने लगायत माग राखेका छन् ।
आईओएमले यही शनिवार देखि एमबीबीएस लगायत विषयका प्रवेश परीक्षाको तोकेको छ । त्यस्तै स्कुल अफ साइन्सले असोज पहिलो साता परीक्षा तालिका सार्वजनिक गरेको छ । तालाबन्दीको कारण परीक्षा विथोलिने सम्भावना देखेपछि मन्त्रीले दुई विश्वविद्यालयका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।











प्रतिक्रिया