नेपाल समाचारपत्र, हेटौंडा । प्रदेश–३ सरकारको मुख्यालयसमेत रहेको हेटौंडामा फैलिँदै गएको डेंगु नियन्त्रणमा प्रदेशको सहयोग नपाएर एक्लै अगाडि बढेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चुनावका बेलामा सधै देखिने दलका भ्रातृ संगठनहरू हेटौंडामा डेंगु नियन्त्रण गर्ने अभियानमा नदेखिएको भन्दै गुनासो गर्नुभएको छ।
सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालको दसौं वार्षीक साधारणसभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै उहाँले डेंगु नियन्त्रणका लागि नगरपालिका सजग र सचेत रहेको स्पष्ट पार्नुभयो। एक महिना अघिदेखि हेटौंडामा डेंगु देखापरे पनि नगरपालिका र वडा कार्यालयको प्रयासबाट बिरामी बढ्न नदिइएको उहाँको दाबी छ।
प्रदेश र नगरपालिकाबीचको समन्वय अभावका कारण हेटौंडामा डेंगु नियन्त्रणको प्रयास सफल हुन नसकेको हो। स्थानीय स्वास्थ्यकर्मी नै भन्छन्–‘प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन।’
हेटौंडा हुँदै दैनिक सयौं सवारीसाधन राजधानी काठमाडौं जाने भएकोले हेटौंडामा फैलिएको डेंगुको प्रत्यक्ष प्रभाव काठमाडौंमा पनि पर्नसक्ने र यसले काठमाडौंमा बस्दै आएका नागरिकको स्वास्थ्य अवस्था भयाबह बनाउनसक्ने देखिन्छ।
हेटौंडा र काठमाडौंको भावी जोखिम न्यून गर्न डेंगु जाँच गर्ने किट आवश्यक मात्रामा खरिद गर्न नगरपालिका तयार रहेको बताउँदै मेयर महतले भन्नुभयो–‘किटको अभावका कारण डेंगु परीक्षणमा समस्या नहुने वातावरण बनाउँदैछौं।’
‘संघीय र प्रदेश सरकारको मुख ताक्नु भन्दा नगरपालिका आफैं नगरवासीको स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्छ भनेर निरन्तर लागिरहेका छौं,’ उहाँले डेंगुका बिरामीलाई उपचार अभाव हुन नदिइने बताउनुभयो।
तर, काठमाडौंको टेकु अस्पतालमा उपचाररत् बिरामी धेरैजसो हेटौंडाका छन्। डेंगुले गर्दा हेटौंडाका सबैजसो अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढेको छ। ती बिरामी काठमाडौं गएका छन्।
पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुरमा डेंगुको महामारी फैलिएको छ। साउन मसान्त र भदौ पहिलो हप्तासम्म ३ जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या ४ हजार नाघेको छ। प्रदेश–३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ। प्रदेशगतरूपमा हेर्ने हो भने प्रदेश–३ संक्रमणको तथ्यांकमा दोस्रो स्थानमा छ।
प्रकोप बढी देखिएको हेटौंडा–४, कमलडाँडामा लामखुट्टे नियन्त्रणका लागि अभियान चलाउँदा केही स्थानीय र टोल सुधार समितिका सदस्य बिरामी परेका थिए। कमलडाँडाकी मौसमी श्रेष्ठ डेंगु नियन्त्रणका लागि घरदैलो अभियान चलाइए पनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ।
डेंगु नियन्त्रणका लागि अभियान निरन्तर चलाइएको हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देल बताउनुहुन्छ। मेयर हरिबहादुर महतको नेतृत्वमा वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, टोल विकास संस्थाका सदस्य अभियानमा लागेका छन्। तर, नगरको मात्र प्रयासले सम्भव नदेखिँदा डेंगु प्रभावितले प्रदेश सरकार भएको अनुभूति गरेका छैनन्।
प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडामा नियन्त्रण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको दाबी गर्नुभयो। विद्यालय, स्वास्थ्यक्षेत्र र सुरक्षा निकायलाई डेंगु नियन्त्रणका लागि आग्रह गरिएको उहाँले बताउनुभएको छ।
पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुरमा डेंगुको महामारी फैलिएको छ। साउन मसान्त र भदौ पहिलो हप्तासम्म तीन जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या ४ हजार नाघेको छ। प्रदेश–३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ। प्रदेशगतरुपमा हेर्ने हो भने प्रदेश–३ संक्रमणको तथ्यांकमा दोस्रो स्थानमा छ।











प्रतिक्रिया