चार स्थानीय तह पहिरोको उच्च जोखिममा

0
Shares

बैतडी, (नेस) । बैतडीका ४ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार सबैभन्दा बढी मेलौली नगरपालिका जोखिममा रहेको छ।

पहिरो मात्रै नभएर अन्य प्रकोपका दृष्टिकोणले पनि मेलौली उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। यस्तै दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुरचौंडी नगरपालिका पनि पहिरोको जोखिममा रहेका छन्।

ती स्थानीय तहका विभिन्न वडामा गत विगतका वर्षमा पहिरोले जनधनको क्षती गरेको र अझै पनि पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो। पाटन नगरपालिका बाहेकका सबै स्थानीय तहमा पहिरोको मध्यम जोखिम रहेको विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको संस्था रेडक्रस बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
पछिल्लो समयमा जथाभाबी डोजरले सडक खनेका कारण पनि पहिरोको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो।  वर्षातको समयमा पहिरोको जोखिम बढी भएकाले यो बेला स्थानीय सरकार चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो। पहिरोका कारण धेरै ठाउँका बस्ती नै जोखिममा रहेकाले सजकता अपनाउनुपर्नेमा जिल्ला प्रसासन कार्यालय बैतडीले अनुरोध गरेको छ।