नेपाल समाचारपत्र, बाँके। नेपालगन्जमा केही समययता सामाजिक कारणले १६ वर्षमा विवाह गर्न पाउनुपर्ने भन्ने र कानुनतः २० वर्ष उता मात्र विवाह गर्न मिल्ने वकालत गर्ने पक्षबीच दोहोरी चलेको छ। जानकी–५, कैलासीका रामदेव मिश्रको अगुवाइमा ठूलो संख्याका मधेसी समुदायका महिलाले नेपालगन्जमा आएर केही महिनादेखि १६ वर्षमा विवाह गर्न पाउनु पर्ने आवाज उठाइरहेका छन्।
दुई दिनअघि बुधबार नेपालगन्जमा यो समूहले ठूलो जुलुस नै निकाल्यो। कानुन संशोधनको लागि दबाब दिइरहेको यो समूहले जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उप–महानगरपालिका कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाइसकेको छ। बेलाबेलामा नेपालगन्जमा आएर प्रदर्शन गरिरहेका छन्। कानुनतः उनीहरूको माग जायज छैन।
मिश्रको अगुवाइमा मधेसी महिलाहरूले धर्ना, जुलुस, ज्ञापनपत्र बुझाएपछि त्यसको ‘काउन्टर’मा किशोरीहरू उत्रिएका छन्। विभिन्न नामका गैरसरकारी संघसंस्थाले गठन गरेका किशोरी क्लबहरूले पनि सबै पालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छन्।
शुक्रबार ५० बढी संस्थाको साझा सञ्जाल भनिएको नागरिक समाज सञ्जालले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। त्यस ज्ञापनपत्रमा प्रचलित कानुनविपरीत बालविवाहको कुरा गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, जिल्लाका हरेक स्थानीय तहले बाल विवाह न्यूनीकरणका लागि कार्ययोजना बनाएर काम गर्नुपर्ने, बालविवाह विरुद्ध अभियान चलाउनुपर्ने, जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्नुपर्नेलगायत मागलाई अगाडि सारिएको छ।
ज्ञापनपत्र बुझेपछि प्रजिअ भुजेलले बालविवाह न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको बताउनुभएको छ।मधेसी समुदायमा विवाह गर्ने बित्तिकै घरमा पठाइँदैन। विवाह, गौना, थौना, आला–चाला गरेर मात्रै घर पठाउने गरिन्छ। उनीहरूका अनुसार, १६ वर्षमा विवाह गर्ने, ३ वर्षमा गौना गर्ने र १ वर्षमा थौना, आला–चाला गरेर घरमा पठाउँदा २० वर्ष पुग्छ। कानुनले यो संस्कारलाई चिन्दैन। नेपालको कानुनले विवाहको उमेर केटा र केटी दुवैको २० वर्ष कायम गरेको छ।
यसरी नेपालगन्जमा केही महिनायता जानकी गाउँपालिकाबाट आई १६ वर्षमा विवाह गर्न पाउनुपर्छ भन्ने मधेसी समुदायका महिलाहरू विरुद्ध बालविवाह रोक्नुपर्छ भनी कार्यक्रम चलाउने गैरसरकारी संघसंस्थाको गतिविधि देखिएको बेलामा केही गैरसरकारी संघसंस्थाका सञ्चालक विवाहको सबाल जति धेरै चर्कियो उत्तिनै फाइदा हुने भन्दै मुख मिठाउँदै किशोरीलाई अगाडि सारिरहेका छन्।
शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सकिएपछि पनि घामघाम हतार हतारमा आएका केही व्यक्तिले त्यस्तै संकेत गरेका थिए। १६ वर्षको माग गर्नेहरूले चर्को घाममा सडकमा जुलस निकाल्दा कानुनबमोजिम समाज चल्नुपर्दछ, कानुनविपरीतका कुरा गर्नेलाई थुन्नु पर्छ भन्नेहरू होटेल, पालिका र प्रशासन कार्यालयमा भेटिने गरेका छन्।
गएको महिना संसद्मा पनि विवाहको उमेरको विषयमा केही सांसदले कुरा उठाएका थिए। केही सांसदले विवाह उमेर १८ वर्षमा झार्नुपर्ने सुझाब दिएका थिए। नेपालमा २० वर्षमा विवाह गर्ने कानुन हुँदा यहाँका मधेसी समुदायले आफ्ना सन्तानलाई भारतमा लगेर बालविवाह गराइदिने गरेको पाइएको छ।











प्रतिक्रिया