रामधन राई, खोटाङ ।चर्किएर चिरैचिरा बनेको जिल्ला कारागार खोटाङका कैदीबन्दी त्रासैत्रासमा बस्न बाध्य छन्। कमजोर जगमा निर्माण गरिएका कारण भासिएर चिराचिरा परेको कारागारका पर्खाल भत्किएर किच्न सक्ने हुनाले कैदीबन्दी त्रसित भएका हुन्।
यसै त कमजोर संरचनासहितको कारागार २०७२ सालको भूकम्पपछि कामै नलाग्ने गरी जीर्ण बनेको छ। कुनै पनि समय भत्किन सक्ने अवस्थाको भवनलाई नै टालटुल गरेर कैदी–बन्दीलाई राखिएको छ। फिलिङ गरेको जमिनमाथि बनाइएको कारागारको भवन निर्माण सम्पन्न भई हस्तान्तरण हुनु पहिल्यै चर्किन थालेको थियो।
‘ङ’ श्रेणीको कारागार भवनको अधिकांश भित्ता चिराचिरा परेकोमा सिमेन्टको भुइँसमेत उक्किएको र चर्किएको अवस्थामा रहेको जेलर चित्राखर आचार्यले बताउनुभयो। कारागारमा ढल निकास र फोहोर व्यवस्थापनको अवस्थासमेत कमजोर रहेको छ।
हाल कारागारमा एक नाबालक र २ महिलासहित ९६ जना कैदीबन्दी रहेका छन्। ६६ जना पुरुष र ३३ महिला गरी ९९ जना कैदीबन्दीको क्षमता भएको कारागार भवनमा पुरुषको वार्डमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाइएको छ।
कारागारमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा पनि समस्या भएको छ। २०१० सालमा निर्माण भएको कारागार माओवादी द्वन्द्वकालमा ध्वस्त बनाइएपछि २०६८ मा पुनर्निर्माण तथा स्थानान्तरण गरिएको हो।











प्रतिक्रिया