विनोदसिंह विष्ट, बैतडी। बैतडीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। गतवर्ष भन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएको र वर्षा भइरहेकोले धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि ज्ञान केन्द्र बैतडीले गरेको हो।
गत आर्थिक वर्ष २०७५–०७६ मा १७ हजार १ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो।
गत वर्षभन्दा १५ प्रतिशत बढी अर्थात् २ हजार ५ सय मेट्रिक टन बढी उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो।
यो वर्ष उन्नत जातको धानको बीउ वितरण गरी प्रयोगमा ल्याइएकोले धान उत्पादन बढी हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख चन्दको भनाइ रहेको छ। यसका साथै समय समयमा वर्षासमेत भइरहेकोले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो। यसैबीच बैतडीमा शतप्रतिशत रोपाईं सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।
वर्षमा ३ खेती गर्ने महाकाली र चमेलिया किनारलगायतका बेसी क्षेत्रमा मात्रै यो हप्ता रोपार्इं सम्पन्न भएसँगै बैतडीमा शतप्रतिशत रोपाईं सम्पन्न भएको हो। बैतडीमा पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका केही स्थान र दशरथचन्द नगरपालिकाको सेरा धाँनखेतीको पकेट भएको केन्द्रले बताएको छ। बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हँुदै आएको छ।











प्रतिक्रिया