नेपाली संरक्षण मोडलमा विदेशी चासो

0
Shares

चिरञ्जीवी मास्के, चितवन।नेपालको संरक्षण मोडल विश्वकै लागि नमुना योग्य मानिन्छ। नेपालको अधिकांश संरक्षण क्षेत्रमा सेनाको प्रत्यक्ष संरक्षणमा सुरक्षा व्यवस्था मिलाइएको हुनाले चोरी सिकारी झन्डै शून्यमा झरेको नेपाली सेनाको दाबी छ।

संरक्षण मोडलका बारेमा जानकारी गराउन र संरक्षण क्षेत्रमा भएका जीवजन्तुको बारेमा जानकारी गराउन नेपाली सेनाले चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जमा स्थापना गरेको प्रकृति संरक्षण शिक्षालयमा अहिले नेपालका मात्र नभई अन्य विदेशी मुलुकबाट समेत संरक्षण मोडल अध्ययन गर्न संरक्षणकर्मी आउने गरेको शिक्षालयले जनाएको छ।

२०७२ सालमा स्थापना भएको प्रकृति संरक्षण शिक्षालयमा संरक्षण मोडललगायतका विषयमा सैनिक तथा गैर सैनिक व्यक्तिलाई तालिम दिइदै आएको शिक्षालयका निमित्त महानिर्देशक प्रमुख सेनानी चक्रबहादुर शाहले बताउनुभयो। नेपाली सेनाले स्थापना गरेको प्रकृति संरक्षण शिक्षालयमा विशेषगरी संरक्षण क्षेत्रको सुरक्षामा खटिने सैनिकलाई तालिम दिइने निमित्त महानिर्देशक प्रमुख सेनानी शाह बताउनुहुन्छ।

प्रकृति संरक्षण शिक्षालयमा संरक्षण क्षेत्रमा खटिने पदिक तथा अन्य दर्जाका सैनिकलाई ८ हप्ताको डुंगा तथा मोटरबाटो सञ्चालन आधार तालिम, २ हप्ताको प्रकृति संरक्षण तथा सुरक्षा प्रि–इन्डक्सन तालिमलगायतका तालिम दिइने शिक्षालयले जनाएको छ।

यस्तो तालिममा नेपालका प्रमुख नदी र तालहरूको परिचय, डुं्गा सञ्चालन हुने आधारभूत जानकारी, वाटरमेनसिप, जीवन बचाउ र उद्धार, नेपालको प्रचलित डुंगा सम्बन्धी जानकारी, संरक्षणको परिचय, संरक्षणमा नेपाली सेना, निकुञ्ज प्रशासनको महत्व, निकुञ्ज–जंगल अप्रेसन आदिको बारेमा प्रशिक्षित गराइने निमित्त महानिर्देशक प्रमुख सेनानी शाहले बताउनुभयो।

नेपाली सेनाबाहेक संरक्षण मोडल तथा संरक्षित वन्यजन्तुको बारेमा होटल व्यवसायी, आमा समूह, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थालाई समेत शिक्षालयले एक डेढ घण्टाको तालिम सञ्चालन गर्दै आएको महानिर्देशक प्रमुख सेनानी शाहले बताउनुभयो।

नेपालको संरक्षण मोडल विश्वकै लागि नमुना रहेको र धेरै मुलुकका संरक्षणकर्मीले नेपालको संरक्षण मोडलको बारेमा जानकारी लिन चाहेकोले शिक्षालयले आगामी दिनमा विदेशी संरक्षणकर्मीलाई समेत तालिम दिने लक्ष्य राखेको प्रमुख सेनानी शाहको भनाइ छ।

अहिले पनि संरक्षण क्षेत्र घुम्न आउने विदेशीलाई शिक्षालयले उनीहरूको चाहनाअनुसार एक–डेढ घण्टाको कक्षा लिँदै आएको र निकट भविष्यमा नै विदेशी संरक्षणकर्मीको एउटा समूह तालिमका लागि शिक्षालयमा आउनलागेको निमित्त महानिर्देशक शाहले बताउनुभयो।

प्रकृति संरक्षण शिक्षालय स्थापना भएको ४ वर्षको अवधिमा सैनिक तथा गैर सैनिक गरी ९ सय जनालाई तालिम दिइसकेको शिक्षालयको तथ्यांकले देखाएको छ। आगामी दिनमा शिक्षालयलाई थप व्यवस्थित बनाउने र अधिक संरक्षणकर्मी तथा सैनिकलाई आधुनिक प्रविधिबाट तालिम प्रदान गर्न प्रकृति संरक्षण पुस्तकालयको स्थापना गर्ने, विभिन्न तालिम सामग्री खरीद गर्ने, पाठ्यक्रम, प्रेसी, डकुमेन्ट्रि, फिल्म तयार गर्ने, साझा संरक्षण शिक्षालयको रूपमा विकास गर्ने आदि लक्ष्य राखिएको निमित्त महानिर्देशक शाहले बताउनुभयो।