बाँदर धपाउन बजेट

0
Shares

बैतडी, (नेस)। बैतडीको दशरथचन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपियाँ छुट्याएको छ। दशरथचन्द नगरपालिका–५ मा बाँदरले विगत केही वर्षदेखि आतंक मच्चाएकाले बाँदर व्यवस्थापनका लागि भनेर १० लाख रुपियाँ विनियोजन गरिएको हो।

बाँदरलगायत जंगली जनावर व्यवस्थापन गर्नका लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका–५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिनुभयो। विशेष गरेर बाँदरले खेतमा लगाएको अन्नबाली तथा फलफूल सखाप पारेर वडाभरि आतंक मच्चाएको उहाँले बताउनुभयो।

यसका साथै घरभित्र समेत पसेर पकाएको खाना तथा घरभित्र थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्नसमेत बाँदरले खाने गरेको उहाँले बताउनुभयो। बाटोमा हिड्दा महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने गरेको वडाध्यक्ष भट्टको भनाइ छ। गत साउनमा ३ जनालाई बाँदरले टोकेपछि तीनैजनालाई रेबिजविरुद्धको सुई दिएको उहाँले बताउनुभयो।