नेपाल समाचारपत्र, जाजरकोट ।अविरल वर्षाका कारण जाजरकोट भेरी नगरपालिका–२ तिमिलेमा शनिबार आएको पहिरोमा पुरिएर तीनजनाको ज्यान गएको छ। पहाडी भिरालो जमिनका कारण घरभन्दा माथिको कान्ला भासिएपछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन आमाछोरीको ज्यान गएको हो।
राति करिब २ बजेतिर घरमा सुतिरहेको अवस्थामा घरभन्दा माथिबाट आएको पहिरोले पुरिएर भेरी नगरपालिका–२ तिमिलेका दलबहादुर वलीकी श्रीमती ३२ वर्षीय पार्वती वली, ९ वर्षीय छोरी मोतीकला वली र ३ वर्षीया छोरी धनसरा वलीको मृत्यु भएको छ भने दलबहादुर वली सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
घरमा सुतिरहेको अवस्थामा पार्वती वली र उनका छोरीहरू मोलीकला, धनसरा वली पुरिएका हुन भने अर्को कोठामा सुतेका दलबहादुर वली घर भत्किँदा भागेर बाँच्न सफल भएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो।
वली समुदायको बाहुल्य रहेको तिमिले गाउँ खलंगाबाट ३ घण्टाको पैदल दुरीमा पर्दछ। घटना हुनासाथ पाँचकाटिया प्रहरी चौकी, खलंगाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल गएको थियो।
घटना रातको समयमा दुर्गम गाउँमा भएकोले पुरिएकालाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।
भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीले प्राकृतिक प्रकोपको सम्भावना धेरै भएकोले सम्पूर्ण नगरवासीलाई सचेत रहन अनुरोध गर्नुभएको छ।











प्रतिक्रिया