नेपाल समाचारपत्र, गुल्मी। जिल्लाको रेसुंगा नगरपालिका–७ सुकुम्बासी लाइनमा बस्दै आएकी जन्मजात अपांग सीता पन्थीका लागि विभिन्न संघ–संस्था र व्यक्तिको आर्थिक, भौतिक तथा श्रम सहयोगमा हालै निर्माण सम्पन्न गरिएको घर एक समारोहका बीच नगर उपप्रमुख सीता भण्डारीले हस्तान्तरण गर्नुभएको छ।
घर निर्माणको लागि गुल्मीस्थित नेपाली सेनाको वीरभद्रजंग गुल्मले आर्थिक र श्रम सहयोग गरेको थियो। त्यसैगरी सरकारी तथा गैर–सरकारी संघ–संस्था एवं विभिन्न व्यक्तिबाट संकलित ४ लाख बढी आर्थिक सहयोगमा घर निर्माण सम्पन्न भएको थियो।
घरधनी सीता पन्थीलाई घर हस्तान्तरण गर्ने क्रममा उपप्रमुख भण्डारीले राज्यको तर्फबाट अपांगलाई सहयोग गर्ने नीतिअनुसार नै सहयोग हुँदैआएको बताउँदै सहयोगी हातलाई धन्यबाद दिनुभएको थियो।
सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अवस्थामा रहेको घरमा बस्दैआएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी समाजसेवी अम्बिका श्रेष्ठले पन्थीको लागि घर निर्माण गर्न विभिन्न संस्थासँग सहकार्य गर्नुभएको थियो।
उहाँले आशा अपांग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो। समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुंगा नगरपालिका र प्रदेश नम्बर–५ को सामाजिक विकास मन्त्रालयसहित झन्डै ५० भन्दा बढी व्यक्ति एवं संघ–संस्थाकोे सहयोगमा घर निर्माण सम्पन्न भएको थियो।
समाजसेवी श्रेष्ठले उक्त घरमा वृद्धा आमा र अपांग छोरीमात्रै रहेकाले सत्यशाही कला केन्द्र संगठनले खानाको लागि सहयोग गर्दै आएको बताउनुभयो। उहाँले घर निर्माण भए पनि गुणस्तरीय जीवनका लागि उनीहरूलाई अरु थप सहयोग आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले संस्थाको तर्फबाट पूरै घर निर्माण गर्ने रकम नभएकाले अभियान चलाएर निर्माण गरिदिएको बताउनुभएको थियो।











प्रतिक्रिया